ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा अन्तरराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला सञ्चालन हुने भएको छ । आगामी मङ्सिर २३ गतेदेखि २९ गतेसम्म प्रतियोगिता र मेलाको आयोजना गरिने भएको हो ।
किराँत लिम्बू लिपिका प्रचारक तथा सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्मजयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’ सहित गोल्डकप आयोजना गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
तेल्लोक स्पोर्टिङ क्लबको अग्रसरता र तेअङ्सी सिरिजङ्गा स्मृति संस्थाको संरक्षकत्वमा उक्त प्रतियोगिता र मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । उनका अनुसार खेलकुदका माध्यमबाट सिरिजङ्गा गाउँपालिका तथा यस क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्नुका साथै स्थानीय खेलाडीलाई व्यावसायिक फुटबलतर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा तेल्लोक स्पोर्टिङ क्लब (ताप्लेजुङ), न्यू स्टार फुटबल क्लब (झापा), पारिजात सङ्घ फुटबल क्लब (सिलिगुढी, भारत), रेड हर्ष फुटबल क्लब (इलाम), वाईवाई पाँचथर फुटबल क्लब (पाँचथर) र साँगुरीगढी फुटबल क्लब (धनकुटा) मरिक एफसी धरान, म्याग्लुङ स्पोर्टिङ क्लब तेह्रथुमसहित आठ टिम सहभागी हुने छन् ।
विजेता टिमले नगद तीन लाख ३२१, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार ३२१, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
गोल्डकपमा विभिन्न विधागत पुरस्कारहरू प्रदान गरिने जनाइएको छ ।
प्रतिक्रिया