विराटनगरमा जेनजीको आवरणमा अराजकता,  कानुनी कारबाहीतर्फ सक्रिय प्रहरी

बुधबार, ०८ असोज २०८२

विराटनगर । जेनजी आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनालाई मोरङ प्रहरीले विभिन्न कोणबाट विश्लेषण गरिरहेको छ । 

घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने हिसाबले प्रहरी अघि बढेको हो । कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङका सरकारी कार्यालयदेखि निजी सम्पत्तिसम्म क्षति पुर्याउने समूहलाई पहिचान गर्ने काम अन्तिम चरणमा पुगेको र छिट्टै पक्राउ प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बुधबार पहिलोपटक पत्रकारसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रमको आयोजना गर्दै राज्य वा नागरिकको सम्पत्तिमाथि आगजनी गर्ने कुनै समूहलाई उन्मुक्ति दिन नसकिने स्पष्ट पारेका छन् । 

‘प्रमाण संकलन भइसकेको छ । संलग्न जो–कोहीले कानुनी कारबाही भोग्नैपर्छ,’ उनले भने । गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा अराजक भिडले विराटनगरका सरकारी निकाय, व्यापारिक मल र निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट मच्चाएको थियो । ती घटनाबाट क्षतिग्रस्त बनेका संरचनाको मुचुल्का उठाइसकिएको र प्रहरीमा उजुरीसमेत परेको जानकारी कटवालले दिए ।

प्रहरीले घटनासँग सम्बन्धित फोटो, भिडियो वा अन्य प्रमाण उपलब्ध गराउन सर्वसाधारणलाई आह्वान गरेको थियो । ‘घटनासँग सम्बन्धित धेरै प्रमाणहरु हात परेका छन् । अझै संकलन भइरहेका छन् । ती सबैको विश्लेषणपछि अपराधमा संलग्नलाई पहिचान गरी पक्राउ गरिन्छ,’ कटवालले भने ।

उनका अनुसार अराजक गतिविधिमा प्रत्यक्ष संलग्न मात्र होइन, त्यस्ता भिडलाई उक्साउने र अपराध गराउन सहयोग गर्नेहरूमाथि समेत कारबाही हुने छ । ‘अराजक घटनाले प्रहरीको मनोबलमा असर पारेको छ । तर, अब कानुनको कठघरामा ल्याएर प्रहरीको मनोबल पुनः उच्च बनाइन्छ,’ उनले जोड दिए ।

प्रहरी स्रोतका अनुसार अराजक गतिविधिमा संलग्न व्यक्तिहरु भाग्न नपाउन निगरानी कडा पारिएको छ । ‘अब जसरी पनि पक्राउ हुन्छन् । अहिले प्रमाण ‘स्क्रिनिङ’ गरेर पहिचान गर्ने काम भइरहेको छ,’ स्रोतको भनाइ छ ।

चाडपर्व लक्षित सुरक्षा कडाइ

यसैबीच, बडादसैँ सुरु भएसँगै मोरङ प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । एसपी कटवालका अनुसार शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका नियमित कामसँगै चाडपर्वका लागि थप सतर्कता बढाइएको छ । 

‘चाडपर्वका बेला आपराधिक घटना बढ्ने सम्भावना हुन्छ । त्यसैले प्रहरीले संवेदनशील भएर काम गरिरहेको छ,’ उनले भने । मोरङमा रहेका प्रहरीसँगै आवश्यक परे अतिरिक्त सुरक्षाकर्मी समेत परिचालन गरिने उनले जानकारी दिए ।

उनले शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न नागरिकलाई आग्रह गर्दै भने, ‘हामी नागरिकले अनुभूत गर्ने गरी सुरक्षा दिनेमा प्रतिबद्ध छौं । अपराधमा संलग्नलाई निर्मम हिसाबले कारबाही गर्छौं ।’

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले पत्रकारहरुलाई गलत वा अतिरञ्जित सूचना नदिन आग्रह गरिन् । ‘पत्रकारले दिएको सूचनाले समाजले धारणा बनाउँछ । त्यसैले प्रमाणित तथ्यलाई मात्रै प्रवाह गरिदिनुहोस् । हामी सत्य सूचना दिन सदैव तयार छौं,’ उनले भनिन् ।

मोरङ प्रहरीले जेनजी आन्दोलनका नाममा भएको अराजक गतिविधिलाई नियन्त्रणमा ल्याउँदै चाडपर्वको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । अपराधमा संलग्न कोही पनि उम्कन पाउने छैनन् र नागरिकले चाडपर्व निडर वातावरणमा मनाउन पाउने छन् भन्ने सन्देश प्रहरीले प्रवाह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार