विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कोशी प्रदेशमा समग्र सुरक्षा अवस्थाको मूल्यांकन र निर्वाचन सुरक्षा रणनीति तयारीका लागि विराटनगरमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी हुने भएका छन् । उनी मंगलबार बिहान विराटनगर विमानस्थलमा अवतरण गरी बुधबार हुने गोष्ठीको पूर्वसन्ध्यामा विभिन्न सुरक्षा संयन्त्रसँग प्रारम्भिक छलफल तथा स्थल अवलोकनमा संलग्न भएका छन् ।
गोष्ठीमा निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित प्रदेश तथा जिल्लास्तरीय सुरक्षासम्बन्धी चुनौती, जोखिम मूल्यांकन र आवश्यक तयारीबारे विस्तृत ‘ब्रिफिङ’ हुने भएको छ । गृह मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारीका साथै प्रदेशका सबै १४ जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति रहनेछ । उनीहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सीमा क्षेत्रको संवेदनशीलता, सम्भावित अवाञ्छित गतिविधि र नियन्त्रण रणनीतिबारे छुट्टाछुट्टै प्रस्तुति दिने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ ।
गृहमन्त्री अर्याल सुनसरीको चतराधाम पनि पुग्ने कार्यक्रम छ । विराटनगर विमानस्थलमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू कुनै दलमा सहभागी नभएको बताए । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका गृहमन्त्री अर्यालले आफू कुनै दलमा सहभागी नभएको बताएका हुन् ।
जेनजी आन्दोलनपछिको सुरक्षा प्रभाव तथा प्रशासनिक संरचनामा देखिएका चुनौतीबारे पनि गोष्ठीमा समीक्षा हुने भएको छ । मंगलबार मोरङस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा भएको आगजनी घटनाको गृहमन्त्री अर्यालले स्थलगत निरीक्षण गर्ने छन् । उनले निर्वाचन केन्द्रित सुरक्षा संयन्त्रबीचको समन्वयलाई प्रभावकारी बनाउन र कार्ययोजना स्पष्ट बनाउन निर्देशन दिने तयारी गरेको गृह स्रोतले जनाएको छ ।
गोष्ठीबाट निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा कार्ययोजना तय गरी जिल्लागत कार्ययोजनासँग समन्वय गर्ने, संवेदनशील क्षेत्र पहिचान गरी प्राथमिकता आधारित परिचालन गर्ने तथा सूचना आदानप्रदान प्रणालीलाई अझ सक्रिय बनाउने निष्कर्ष निकालिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया