मतदाता दर्ता नभएका युवाहरुले पनि मतदान गर्न पाउने, अध्यादेश आजै आउन सक्ने

बुधबार, ०८ असोज २०८२

काठमाडौँ । अहिलेको कानुनी व्यवस्थाअनुसार निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली संकलन रोकिने र यसका कारण नयाँ पुस्ताका योग्य मतदाता दर्ता नभएकै कारण मताधिकारबाट बञ्चित हुने भएपछि यसलाई अध्यादेशमार्फत संशोधन गरिने भएको छ । अध्यादेश आजै जारी हुने सम्भावना छ ।

सरकारले मतदाता नामावली ऐन २०७३ को एउटा मात्र दफा संशोधन गर्नेगरी अध्यादेश ल्याउन लागेको हो । अध्यादेशले पुरानो ऐनको दफा ४ लाई संशोधन गर्नेछ । यो दफाले निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता दर्ता गर्न रोक्छ । अध्यादेशले यो व्यवस्थालाई संशोधन गरेपछि निर्वाचन घोषणा भएपछि पनि केही समय नयाँ मतदाता नामावली संकलन गर्न बाटो खुल्नेछ ।

अध्यादेशको मस्यौदा तयार भइसकेको छ र मन्त्रिपरिषदले यसलाई पारित पनि गरिसकेको छ । गृह मन्त्रालयले तयार गरेको अध्यादेशलाई हिजोको मन्त्रिपरिषद बैठकले पारित गरेको हो । अध्यादेश आज राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइँदैछ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो अध्यादेश राजपत्रमा प्रकाशित भइ कानुन बन्नेछ र नयाँ योग्य मतदाता दर्ताको बाटो खुल्नेछ ।

निर्वाचन घोषणापछि आन्दोलनबाट परिवर्तन ल्याएका युवा मताधिकारबाट वञ्चित हुने देखिएपछि अध्यादेश ल्याउन लागिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले ३० भदौमा मन्त्रीको जिम्मेवारी पाएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन योग्य भएका र छुटेकालाई सरकारले एक पटक मौका दिने बताएका थिए ।

अध्यादेशमार्फत पुरानो कानुनी व्यवस्थालाई संशोधन गरेर निर्वाचन घोषणा भइसकेपछि पनि निर्वाचन आयोगले तोकेको अवधिभित्र मतदाता नामावली संकलन गर्न सकिने व्यवस्था गरिएको छ । अब नयाँ ऐन लागू भएपछि निर्वाचन आयोगले निश्चित अवधि तोक्नेछ । त्यो अवधिमा मतदान गर्न योग्य तर नामावलीमा छुटेकाहरुले नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

गृहमन्त्रीले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिने व्यवस्था गर्ने बताएका थिए । त्यसका लागि अध्ययन टोली गठन भइसकेको भए पनि यो काम कति समयमा पूरा हुन्छ भन्ने स्पष्ट नभएकोले विदेशमा रहेका नेपालीले यही निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् भन्ने स्पष्ट छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार