काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँसहित देशका विभिन्न १० सहरमा सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने तयारी गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबहालीका अवसरमा गरेका पहिलो निर्णयलाई कार्यान्वयन गर्न प्राधिकरणले पहल थालेको हो।
प्राधिकरणका अनुसार काठमाडौँमा दुई महिनाभित्र र अन्य सहरमा पाँच महिनाभित्र वाइफाइ सेवा सञ्चालन गरिने छ। यसका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग छलफल भइरहेको छ।
उपनिर्देशक तथा सहायक प्रवक्ता प्रदीप पौड्यालले तोकिएको समयसीमा भित्र काम सम्पन्न गर्न रणनीति बनाइँदै गरेको बताए। उनका अनुसार नयाँ स्थानमा वाइफाइ विस्तार, विद्यमान स्थानमा गुणस्तरीयता वृद्धि, डेटा सुरक्षा, र निशुल्क सेवाको मात्रा तथा समयसीमा निर्धारणलगायत विषयमा कार्ययोजना तयार भइरहेको छ।
पौड्यालले भने, “लागतको मामिलामा केही समस्या छ, तर बजेट स्वीकृत भइसकेकाले मोडालिटी तय गरेर अघि बढ्छौँ। सेवा प्रदायकसँगको सहकार्यबाट रणनीति तय हुन्छ।”
उनका अनुसार प्राधिकरणले २०७५ सालको वाइफाइ ‘हटस्पट’ सञ्चालनसम्बन्धी विनियमावलीअनुसार काम अघि बढाउने छ। हाल तत्काल काठमाडौँबाट सेवा सुरु गर्ने तयारी तीव्र पारिएको प्राधिकरणले जनाएको छ।
मोबाइल सेवा प्रदायक, एनसेल, नेपाल टेलिकम र प्रमुख इन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्य गरेर परियोजना अघि बढाइने प्राधिकरणले स्पष्ट पारेको छ।
प्रतिक्रिया