जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृतकमध्ये जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेका छन् ।
धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक बिहीबार राति साढे १० बजेतिर दुर्घटना भएको हो । भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन् । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मोटरसाइकल सवारहरू कमला नगरपालिका–३ लगमा बजारमा आयोजना गरिएको झिझिया नाच हेर्न जाँदै गरेका बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया