इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बिशालचोकबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। शुक्रबार राति साढे १ बजे विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले कारभित्र लुकाइएको अवस्थामा ३४० केजी गाँजा फेला पारेको हो।
धरानतर्फ जाँदै गरेको कार (BR 11 BR 7102) र नम्बर नखुलेको पल्सर मोटरसाइकललाई प्रहरीले रोक्न खोजेपछि दुवै सवारी फर्केर भागेका थिए। पछ्याउने क्रममा कार चालक मोटरसाइकलमै सवार भई फरार भएको र प्रहरीले कार नियन्त्रणमा लिन सफल भएको जनाइएको छ।
चेकजाँच गर्दा कारभित्र ११ वटा प्लास्टिकका पोकामा प्याक गरी लुकाइ–छिपाइ राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको छ।
फरार मोटरसाइकल, त्यसका चालक र कार चालकको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया