श्रीमतीको हत्या गरी करेसामा शव गाडेर नख्खु कारागार फर्किएका थिए तामाङ

शुक्रबार, १० असोज २०८२

काठमाडौँ : कारागार तोडफोडपछि भागेका कैदीमध्येका एक ३६ वर्षीय सन्तबहादुर तामाङ घरमा श्रीमतीको हत्या गरेर पुनः नख्खु कारागार फर्केका थिए । जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका उनी गत भदौ २४ गतेको जेल तोडफोड घटनापछि रवि लामिछानेलगायत अन्य कैदीहरूसँगै बाहिरिए । त्यहाँबाट काभ्रेपलाञ्चोकको पनौती–१२ स्थित घरमै पुगेका थिए ।

श्रीमती जमुना, ११ वर्षीय छोरा र ३ वर्षीया छोरीसँगै वृद्ध आमा घरमा थिइन् । श्रीमान् नभएको समयमा जमुनाले म्यासेन्जर र भाइबरमार्फत अन्य पुरुषहरूसँग सम्पर्क राख्ने गरेको कुरो छोरोले बाबुलाई सुनाएको कैदी तामाङको दाबी छ । सोही विषयले दम्पतीबीच मनमुटाव बढेपछि हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

यसरी भएको थियो हत्या

असोज ३ गते राति दुवैले मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विदेशबाट एक पुरुषको फोन पटक–पटक जमुनाको मोबाइलमा आयो । त्यसपछि सन्तबहादुर झन् आक्रोशित बने । उनले श्रीमतीलाई अनुहारमै प्रहार गरे र प्रतिवाद गर्ने क्रममा पछाडिबाट टाउकोमा हान्दा जमुना ढलेकी थिइन् ।

भोलिपल्ट बिहान उनले मृत श्रीमतीलाई घर पछाडिको करेसामा खाडल खनेर गाडिदिए । त्यसपछि केही नभएको जस्तो गर्दै उनी नख्खु कारागारमा फर्किएका थिए ।

जमुना हराएको भन्दै परिवारले खोजतलास गर्दा असोज ६ गते दिउँसो स्थानीयको सहयोगमा घर नजिकै जमिन खनेर शव फेला पारिएको थियो । शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार, सन्तबहादुरले श्रीमतीको हत्या अरु कसैले गरेको देखाउने प्रयास गरेका थिए। तर मोबाइल कल डिटेल, छोराको भनाइ र स्थानीयको सहकार्यबाट सत्य बाहिर आएको हो ।

प्रहरी निरीक्षक हरेराम नेपालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले परिवारका सदस्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार