राजविराज । गत भदौ २५ गते राजविराज कारागार तोडफोड गरी भागेका दुई जना कैदी मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेका मध्ये सप्तरीको बलानबिहुल गाउँपालिका–४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका–१० का ४० वर्षीय सन्तोष तामाङ रहेका छन् । दुुवै जना कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आएका थिए ।
सप्तरी जिल्ला प्रहरी कार्यालयका डीएसपी बस्नेतका अनुसार बरही भदौ २६ गते विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरमा मृत भेटिएका थिए भने तामाङ भदौ २७ गते राजगढ गाउँपालिका–३ नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । “दुवै जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,” उनले भने , “थप अनुसन्धान जारी छ ।”
सन्तोष तामाङलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २५ वर्ष कैद सजाय सुनाइएको थियो । उनलाई २०७५ पुस १५ गते कारागार चलान गरिएको थियो । बरही पनि सोही मुद्दामा कैद सजाय भोगिरहेका थिए ।
गत भदौ २५ गते जेन–जी आन्दोलनको अवसर छोपी कैदीबन्दीहरूले कारागारभित्र आगजनी गर्दै सामूहिक रूपमा भागेका थिए । सो दिन दुई सय पाँच जना कैदीबन्दी भागेका मध्ये हालसम्म एक सय तीन जना पक्राउ परेका छन् भने अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया