धरानको कृषि बजारमा चाडपर्व लक्षित खसी–बोका व्यापार बढ्यो

शुक्रबार, १० असोज २०८२

धरान । दशैं नजिकिँदै जाँदा धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसी–बोका किनबेच तिव्र बनेको छ। साप्ताहिक रूपमा बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा पहाडदेखि तराईसम्मका किसान र व्यापारीहरूको भीड बढ्न थालेको छ।

संखुवासभाका श्याम बहादुर बस्नेत १८ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएका छन्। उनले धरान बजारलाई आफ्ना खसी–बोका बिक्रीको प्रमुख केन्द्र बनाउँदै आएका छन्। बस्नेतले भने, “महिनामा दुई–तीन पटक धरान आउँछु, अहिले १५ वटा खसी–बोका ल्याएको छु। अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाकी बिक्री हुन बाकी छ।”

सुनसरीको दुहबी नगरपालिका–५ का व्यापारी नैसात मिया पनि हरेक हप्ता दुई दिन धरानको खसी बजारमा उपस्थित हुने गर्छन्। उनले भने, “एक दिनमा १ सयदेखि १५० वटा खसी–बोका किनेर झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरसम्म पठाउने गर्छु। ३१ वर्षदेखि यही व्यवसाय गर्दै आएको छु, मासिक रूपमा रु. ८० हजारदेखि १ लाख रुपैयाँसम्म नाफा हुने गरेको छ।”

WhatsApp Image 2025-09-26 at 11.37.10 AM (2)

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार बजारमा हरेक हप्ता करिब ४ हजार ५०० खसी–बोका बिक्री हुने गर्छ। गत वर्ष दशैं अघिका दुई हप्तामा मात्र औसत ५ हजार बढी खसी–बोका बिक्री हुँदा करिब रु. ११ करोड बराबरको कारोबार भएको थियो। तर यस वर्षको पहिलो हप्तामा ४ हजार ५०० मात्र बिक्री भई करिब रु. १० करोड बराबरको कारोबार भएको उनले जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ मा धरानको कृषि बजारबाट १ लाख २० हजारभन्दा बढी खसी–बोका बिक्री भई करिब रु. २ अर्ब ४० करोड बराबरको कारोबार भएको थियो। यस वर्ष भने साउन महिनाको लगातारको वर्षा र भदौ महिनामा जेनजी आन्दोलनका कारण ढुवानी र यातायातमा अवरोध देखिएकोले कारोबार सुस्त भएको अध्यक्ष भट्टराईले बताए। उनले भने, “उपभोक्ताको क्रयशक्ति पनि कम देखिएकोले गत वर्षजत्तिको व्यापार हुन सकेको छैन।”

धरानको यस बजारमा धनकुटा, संखुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीजस्ता तराई क्षेत्रका व्यापारी र किसान खसी–बोका बिक्रीका लागि आउने गरेका छन्। यहाँबाट किनेका खसी–बोका मुलुकका प्रमुख सहरहरूमात्र नभई भारतसम्म पनि निर्यात हुने गरेको अध्यक्ष भट्टराईले जानकारी दिए।

WhatsApp Image 2025-09-26 at 11.37.09 AM (1)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार