विराटनगर । भारतको जोगवनी बजार आज दिउँसो तनावग्रस्त बनेपछि नेपाल–भारत सीमा नाका तत्कालका लागि बन्द गरिएको छ । साम्प्रदायिक विवाद बढ्दै गएपछि उत्पन्न तनावका कारण सीमा क्षेत्र रानी–जोगवनी नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
जोगवनी नेपालीहरूको प्रमुख किनमेल केन्द्र हो । दशैं–तिहार नजिकिँदै गर्दा दैनिक सयौं नेपाली किनमेलका लागि जोगवनी जाने गरेका छन् । तर, बिहीबार बिहान ११ बजेदेखि सुरु भएको विवाद उग्र बनेपछि किनमेलका लागि गएकाहरु भाग्दै नेपाल फर्किएका थिए । नेपाली सुरक्षाकर्मीले पनि सीमा क्षेत्रमै नेपाली नागरिकलाई रोकेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थिति असामान्य बनेपछि नाका तत्काल बन्द गरिएको जानकारी दिए । ‘जोगवनीमा तनाव भएपछि नेपालीलाई प्रवेशमा रोक लगाइएको छ,’ उनले भने, ‘स्थिति सामान्य भएपछि मात्रै नाका खुला गरिनेछ ।’
नेपाली सुरक्षाकर्मीका अनुसार हिन्दु समुदायका केही युवाले सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गलत टिप्पणी गरेपछि मुस्लिम समुदाय विरोधमा उत्रिएको हो । सोही क्रममा बजरंग दलका कार्यकर्ता पनि प्रतिवादमा उत्रिएपछि दुवै पक्षबीच दोहोरो झडप भएको जानकारी आएको छ ।
दुवै समुदायका समूह लाठी, भाला बोकेर प्रदर्शनमा उत्रिएपछि जोगवनी बजार तनावग्रस्त बनेको छ । भारतीय सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन भइसकेको र परिस्थितिलाई नियन्त्रणमा लिन प्रयास भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही संरचनामा तोडफोडसमेत भएको बताइएको छ ।
यसैबीच, नेपाली प्रशासनले नागरिकलाई तत्काललाई जोगवनी प्रवेश नगर्न आग्रह गरेको छ । स्थिति सामान्य भइसकेपछि मात्रै सीमा पुनः सञ्चालन हुने मोरङ प्रशासनले जनाएको छ ।
प्रतिक्रिया