विराटनगर। कोशी प्रदेशसभाको सातौँ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ। गत भदौ १५ गते प्रदेशसभाको ४० औँ बैठक बसेको थियो, तर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि बैठक सञ्चालनको अवस्था असुरक्षित बनेको थियो। आगजनीका कारण प्रदेशसभा भवन पूर्ण रूपमा ध्वस्त भएको छ भने सचिवालय भवन पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ।
अनिश्चितताको बीचमा शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेशसभा भवन र सचिवालय सञ्चालनका लागि विराटनगरमा नयाँ कार्यालय खोजी कार्य जारी छ। प्रदेश प्रमुख र मन्त्रीपरिषद्का अधिकारीहरूले भने, “प्रदेशसभा र सचिवालय सञ्चालनका लागि सुरक्षित र उपयुक्त स्थानको खोजी जारी छ। प्रदेशका जनताको कामकाजमा कुनै अवरोध नहोस् भन्ने हाम्रो प्राथमिकता हो।”
कोशी प्रदेशमा यस आगजनीका कारण प्रशासनिक र विधायिका दुवै पक्षमा अस्थायी व्यवधान आएको छ। नयाँ कार्यालयको निर्णयसँगै प्रदेशसभा बैठक सञ्चालन पुनः सुरु हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया