रौतहट । बडा दसैँको चहलपहल गाउँ तथा बजारमा देखिएपनि पछिल्लो समय चङ्गा उडाउने परम्परा हराउँदै गएको छ । गाउँ घरमा केही व्यक्तिहरु मिलेर आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम सुरु हुने गर्दथ्यो ।
तर पछिल्लो समयमा चङ्गा उडाउनका लागि युवाहरुले रुची नदेखाएपछि परम्परा नै हराउँदै गएको हो । पछिल्लो पुस्ताहरु युवाहरु टिभी, इन्टरनेट तथा अन्य मनोरञ्जनतर्फ लागेपछि यसतर्फ कसैको ध्यान नगएको चन्द्रपुर ४ का अशोक कोइरालाले बताए । उनका अनुसार पछिल्लो समयमा अनलाइन मनोरञ्जनका खेलप्रति बालबालिका तथा युवाहरु सक्रिय हुने गरेको पाइन्छ ।
अकाशमा चङ्गा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो तर अहिले त चङ्गा उडाउने गरेको देखिनै छाड्को उनको भनाइ छ । दसैँमा चङ्गा उडाउने संस्कृतिबारे नयाँ पुस्ता माझ जानकारी नै नभएको हुनसक्ने उनले बताए ।
केही स्थानमा फाटफुट चङ्गा उडाउने गरेको देखिएपनि परम्परा भने हराउँदै गएको समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । वडादसैँको झल्को दिने र रमझम बढाउने यस परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । दसैँको समयमा चङ्गा उडाउने प्रतिष्पर्धा नै हुने गरेको समाजका वुढापाकाहरुको भनाइ छ ।
दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएकोमा उनीहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।
पुरानो संस्कृतिलाई अनुशरण गर्दैे केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दसैँका बेला चङ्गा बनाएर देखाउने गरिन्छ । अव नयाँ पुस्तालाई चाडपर्वको महत्व र विशेषतासंगै खेलिने मनोरञ्जनका खेलका बारेमा पनि जानकारी दिनुपर्ने आवश्यता रहेको सरोकारवालाहरु बताँउछन् । यस्ता पुराना संस्कृति लोप हुन नदिन स्थानीयले जर्गेना गर्न आवश्यक छ ।
प्रतिक्रिया