काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा देखिएको राजनीतिक अनिश्चितता र सङ्कटलाई चिर्न राजनीतिक दलहरूले अब ढिलासुस्ती नगरी जिम्मेवार र परिणाममुखी कदम चाल्नुपर्नेमा जोड दिएकी छन्।
शुक्रवार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले मुलुक लामो समयसम्म अस्थिरतामा अल्झिरहन नसक्ने स्पष्ट चेतावनी दिइन्। उनले दलहरूलाई नागरिक समाज र नयाँ पुस्तासँग सहकार्य गर्दै व्यवहारिक समाधानका एजेन्डा अघि सार्न आग्रह गरिन्।
“दलका नेताहरू पार्टीभित्र ठोस निर्णय लिन नसकी बाहिर मात्र बयानबाजीमा सीमित हुने प्रवृत्ति देखिन्छ। अब जनताको मन बुझेर वास्तविक काम गर्ने बेला आएको छ,” उनले स्पष्ट शब्दमा भनिन्।
भण्डारीले अस्थिरताले केवल मुलुकभित्र मात्र होइन, मित्रराष्ट्रहरूसमेत चिन्तित बनाउने भन्दै शान्ति, स्थायित्व र राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्न दलहरूलाई सचेत गराइन्।
उनका अनुसार नयाँ पुस्ताको आकाङ्क्षा, माग र सोचलाई सम्बोधन नगरेसम्म मुलुकलाई आधुनिक युगको आवश्यकताअनुसार अघि बढाउन सकिँदैन। “जनताबाट सुझाव लिन ढिलाइ गर्नु हुँदैन। युवाको माग सम्बोधन गर्न सके मात्र देशले निकास पाउँछ,” उनले भनिन्।
वरिष्ठ नागरिकको हैसियतमा आफूले यथाशक्य योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले समाजका सबै तह–तप्काबाट पनि दललाई सुझाव दिनुपर्ने र दलहरूले ती सुझावलाई आत्मसात् गरेर मुलुकलाई सङ्कटबाट उबार्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
प्रतिक्रिया