अपराध अनुसन्धानमा उत्कृष्ट झापामा दुई प्रहरी सम्मानित

शुक्रबार, ३१ असोज २०८२

बिर्तामोड : समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराध अनुसन्धानमा उल्लेखनीय योगदान पुर्‍याएको कारण झापाका दुई प्रहरी अधिकृतलाई सम्मान गरिएको छ। नेपाल प्रहरीको ७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र प्रहरी नायव निरीक्षक ज्ञानु खड्का सम्मानित भएका हुन्।

नेपाल प्रहरीको पेशागत मर्यादालाई कायम राख्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा उनीहरूले देखाएको कुशल व्यवसायिक क्षमता र अनुसन्धान दक्षतालाई कदर गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुबै जनालाई सम्मानपत्र प्रदान गरेको हो।

प्रहरी निरीक्षक चौहानले लागूऔषध अपराध अनुसन्धानको क्षेत्रमा र प्रहरी नायव निरीक्षक खड्काले साइबर अपराध अनुसन्धानमा उल्लेखनीय कार्य गरेका थिए।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पठाएको सम्मानपत्र शुक्रबार जिल्ला प्रहरी कार्यालय झापामा आयोजित एक समारोहमा प्रहरी उपरीक्षक राजन लिम्बूले प्रदान गरेका हुन्।

उक्त अवसरमा प्रहरी उपरीक्षक लिम्बूले अपराध नियन्त्रणमा दक्ष र जिम्मेवार प्रहरी नै संस्थाको पहिचान हुने बताए। कार्यक्रममा अन्य अधिकारी, प्रहरी कर्मचारी र स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार