काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोकिएको बारेमा असन्तुष्टि जनाएका छन्।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता रोकेकोप्रति आफूहरुको असन्तुष्टि रहेको बताएका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित गर्दै भण्डारीको सदस्यता रोक्न नमिल्ने बताए।
‘विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको? अध्यक्षले किन रोकेको? विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो,’ नेता बास्कोटाले भने।
नेता बास्कोटाले पार्टी नेतृत्वमा दुई कार्यकालको व्यवस्था अध्यक्ष ओलीले नै लडेर ल्याएको स्मरण गराउँदै अब नेतृत्व छाड्दा उचित हुने सुझाव दिए। महाधिवेशन आइसकेको उल्लेख गर्दै उनले अब नेतृत्वको छिनोफानो हुने बताए।
उनले भने, ‘२ कार्यकाल ओलीले आफैँले लडेर राखेको व्यवस्था भएकाले त्यसमा जानुपर्छ, विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको ? अध्यक्षले किन रोकेको ? विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो । महाधिवेशन आइसकेको हुनाको अब नेतृत्वको त्यहीँ छिनोफानो हुन्छ । २ कार्यकाल तपाईँले लडेर विधानमा राखेको हो, त्यसमा अडिनुस् ।’
जेनजी आन्दोलन र त्यसमा हुनसक्ने हिंसात्मक तयारीबारे तत्कालीन सरकारकाले थाहा नपाउनु र थाहा पाएको भए तयारी नगर्नु दुवै कमजोरी रहेको बास्कोटाले बताए ।
प्रतिक्रिया