अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन

आइतबार, ०२ कार्तिक २०८२

अमेरिकाका विभिन्न सहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको विरोधमा लाखौं मानिस सडकमा उत्रिएका छन्।

‘नो किङ्स’ नाम दिइएको प्रदर्शन देशका ५० वटै राज्यमा आयोजना गरिएको जनाइएको छ। विशेषतः न्यूयोर्क, वाशिङ्टन डीसी, शिकागो, मियामी र लस एन्जलस जस्ता सहरहरूमा केही क्षणमै हजारौं मानिस सडकमा ओर्लिएका थिए।

न्यूयोर्क सहरको प्रसिद्ध टाइम्स स्क्वायरमा शनिबार बिहान सुरु भएको प्रदर्शन केही समयमै हजारौं मानिसले भरिएको थियो। रोयटर्सका अनुसार सो दिन देशभर करिब २६ सयभन्दा बढी स्थानमा प्रदर्शन र र्‍यालीहरू सम्पन्न भएका थिए। प्रदर्शनमा लाखौं मानिसले सहभागिता जनाएका थिए भने ती सबै कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको अमेरिकी मिडियाहरूले जनाएका छन्। न्यूयोर्कमा मात्रै एक लाखभन्दा बढीले मार्च गरेको बताइएको छ।

सडक र सबवे प्रवेशद्वारहरू विरोधका नारासहितका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले भरिएका थिए। हाल ट्रम्पमाथि आफूलाई संविधानभन्दा माथि राखेको र संविधानलाई आफ्ना हितअनुकूल प्रयोग गर्न खोजेको आरोप लाग्दै आएको छ। प्रदर्शनमा ‘राजतन्त्र होइन, लोकतन्त्र चाहिन्छ’ र ‘संविधान विकल्प होइन’ जस्ता सन्देशहरू लेखिएका थिए।

प्रदर्शन अघि ट्रम्पका समर्थकहरूले सहभागीहरूलाई ‘फार-लेफ्ट एन्टिफा आन्दोलनसँग जोडिएको’ आरोप लगाउँदै यसलाई ‘अमेरिकाविरुद्धको घृणा प्रदर्शन’ भनेका थिए। तर आयोजक र सहभागीहरूका अनुसार शनिबारका सबै कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार