विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको समानुपातिक सांसद उम्मेदवारको सर्टलिष्टले शुक्रबार राजनीतिक वृत्तमा नयाँ चर्चा जन्माएको छ ।
सूचीमा गोल्छा परिवारकी सदस्य तथा संविधानसभा सदस्य राज्यलक्ष्मी गोल्छाको नाम मधेशी कोटातर्फ समावेश भएपछि उनी फेरि संसदीय राजनीतिमा फर्कने सम्भावनासहित अघि बढेकी छन् । रास्वपाले सर्टलिष्टमा परेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यसपछि अन्तिम निर्णय सार्वजनिक हुनेछ ।
राज्यलक्ष्मी गोल्छा दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक कोटामा सभासद् बनेकी थिइन् । उनको पहिलो संसदीय प्रवेशसँगै उनको नाम सधैं सामान्य राजनीतिक कार्यकर्ताको भन्दा फरक ढंगले चर्चामा रह्यो ।
उद्योग–व्यवसायसँग गहिरो सम्बन्ध रहेको गोल्छा परिवारको पृष्ठभूमिका कारण उनी समानुपातिक प्रणालीमार्फत ‘आर्थिक हैसियतको बलमा संसद पुगेको’ आरोपको केन्द्रमा परेकी थिइन् । प्रधानमन्त्रीको निर्वाचनका बेला संसद बैठकमा अनुपस्थित भएपछि एमाले नेतृत्वसँग उनको सम्बन्ध चिसियो ।
पार्टीको निर्देशन पालना नगरेको भन्दै उनलाई राजीनामा दिन भनियो र त्यसपछि उनी पार्टीबाट अलग भइन् । यही प्रक्रियामा उनले एमालेमा चन्दा दिएबापत समानुपातिक सांसद बनेको विषय सार्वजनिक भएको थियो । जसले नेपाली राजनीतिमा समानुपातिक प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको थियो ।
राज्यलक्ष्मी गोल्छा स्वर्गीय महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन् । महेन्द्रकुमार विराटनगरलाई औद्योगिक नगरीका रूपमा विकास गर्न अग्रणी भूमिका खेलेका उद्योगपति रामलाल गोल्छाका छोरा थिए । यही पारिवारिक विरासतले गोल्छालाई उद्योग, पुँजी र राजनीतिक शक्तिको संगमको प्रतीकका रूपमा चित्रित गर्नेहरू पनि छन् ।
एमालेसँगको सम्बन्ध टुटेपछि उनी केही समय सक्रिय राजनीतिबाट टाढा रहिन् । त्यसपछि वैकल्पिक र सुधारमुखी राजनीति अघि सार्दै आएको विवेकशील साझा पार्टीमा उनी आबद्ध भइन् । पारदर्शिता र सुशासनको एजेन्डा बोकेको उक्त पार्टीसँग उनको जोडिनुलाई धेरैले ‘राजनीतिक पुनर्स्थापनाको प्रयास’का रूपमा हेरे । हालै विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएपछि उनी स्वतः रास्वपाको संरचनाभित्र आएकी हुन् ।
समानुपातिक उम्मेदवारको सर्टलिष्टमा नाम परेपछि गोल्छाले आफू सांसद निर्वाचित भए देशको सेवामा लाग्ने प्रतिक्रिया दिएकी छन् । पार्टी एकतापछि रास्वपामा आएको उल्लेख गर्दै उनले सर्टलिष्टमा राखिनुलाई सकारात्मक रूपमा लिएको बताइन् । ‘पार्टीले मलाई योग्य ठानेर राख्नु भएको हो भने त्यो सम्मानको विषय हो,’ उनको भनाइ छ, ‘निर्वाचित हुने अवसर पाएँ भने देशका लागि केही गर्न चाहन्छु ।’
तर, उनको नाम सर्टलिष्टमा पर्नुले रास्वपामाथि पनि प्रश्न उठ्न थालेका छन् । पुरानो राजनीतिक विवाद बोकेकी व्यक्तिलाई ‘नयाँ राजनीतिको प्रतीक’ दाबी गर्ने पार्टीले अघि सारेको भन्दै राजनीतिक वृत्तमा आलोचना र समर्थन दुवै देखिन थालेका छन् ।
विशेष गरी समानुपातिक प्रणालीलाई सुधार गर्ने कुरा उठिरहेका बेला गोल्छाको पुनरागमनले रास्वपाको नीति र व्यवहारबीचको अन्तरबारे बहस थप चर्किन सक्ने देखिन्छ । अब पुस ५ गते हुने छलफलपछि सार्वजनिक हुने अन्तिम सूचीले राज्यलक्ष्मी गोल्छाको राजनीतिक भविष्य मात्र नभएर रास्वपाले आफूले दाबी गरेको राजनीतिक मापदण्ड कति कडाइका साथ लागू गर्छ भन्ने प्रश्नको उत्तर पनि दिनेछ ।
विवादित अतीत, शक्तिशाली पारिवारिक पृष्ठभूमि र ‘नयाँ राजनीति’को दाबीबीचको यो संगमले आगामी दिनमा नेपाली संसदीय राजनीतिमा नयाँ बहस जन्माउने संकेत देखिएको छ ।
प्रतिक्रिया