काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा आगामी १५औं महाधिवेशनको मितिबारे निर्णायक छलफल हुने भएको छ।
पार्टीभित्र महाधिवेशन २१ फागुनको आम निर्वाचन अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा सहमति नजुटेकाले कांग्रेसको बैठक बारम्बार स्थगित हुँदै आएको थियो। सहमतिको प्रयास स्वरूप गत शुक्रबार र आइतबारका लागि तोकिएका बैठक पनि बस्न सकेका थिएनन्।
आजको बैठकमा महामन्त्री गगन थापा नेतृत्वको समूह र संस्थापन पक्ष दुवैतर्फबाट फरक-फरक महाधिवेशन कार्यतालिका पेस गरिने तयारी भएको जनाइएको छ।
संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको सोमबार नयाँ बानेश्वरमा बसेको भेलाले आगामी वैशाख २५ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव पारित गरी आजको बैठकमा पेस गर्ने निर्णय गरेको छ। तर, संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्।
उनीहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।
प्रतिक्रिया