बसपार्कको संरचनामा वडा कार्यालय र कृषि क्याम्पस सञ्चालन

बुधबार, १३ बैशाख २०८०
इलाम । इलाममा निर्माण सम्पन्न भएको बसपार्कमा कृषि क्याम्पस सञ्चालन भइरहेको छ । साथै सोही बसपार्कका लागि निर्माण गरिएको भवनबाट वडा कार्यालय सञ्चालनमा छ । करोडौँ सरकारी रकम खर्च गरेर बसपार्क निर्माण भएपनि सञ्चालनमा नआई कृषि क्याम्पस सञ्चालन र वडा कार्यालय सञ्चालन भएपछि स्थानीय निराश भएका छन् । कृषि क्याम्पस सुरु हुनु जिल्लाकै प्रतिष्ठाको कुरा हो । तर जहाँ सञ्चालन हुनु पर्ने हो त्यहाँ नभएको भन्दै बिरोध भएको हो । सरकारी ढुकुटीबाट करोडौँ खर्च गरेर निर्माण भएको बसपार्क सम्पन्न भएपछि बसपार्क सञ्चालनको सट्टा अर्कै प्रयोजनमा लगाउनु गलत कार्य भएको इलामबासीको भनाई छ । कृषि क्याम्पस इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालनमा छ । तर जनप्रतिनिधिले निर्माण भइसकेको बसपार्क सञ्चालनमा नल्याई अर्को प्रयोजनमा लगाउनु दुखद भएको इलाम नगरबासीको भनाई छ । बसपार्क निर्माण गरेर अन्य प्रयोजनमा आएपछि केही विरोध र केही समर्थन पनि छ । होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बिकेन्द्रिकरणको सिद्धान्तमा चल्नु पर्ने बताए । उनले सबै कुराहरु बजारभित्र मात्र थुपार्न नहुने बताए । तर जुन प्रयोजनका लागि सरकारले खर्च गर्छ सोही काममा लगाउन जनप्रतिनिधिहरु लाग्नु पर्ने उनको भनाई छ । बसपार्क बस आवतजावत र बस राख्ने कार्यमा नै लगाउनु पर्ने बसपार्क आसपासका बासिन्दाले माग गर्दै आएका छन् । २०७३ असार १६ मा ठेक्का संझौता भई निर्माण शुरु भएको वसपार्क इलाम २०७७ साल जेठमा इलाम नगरपालिकालाई हस्तान्तरण भएको हो । नगरपालिकाको स्वामित्वमा आएपछि बसपार्क सञ्चालन हुने आशा गरेका नगरबासी एकाएक अर्कै प्रयोजनमा सञ्चालन हुन थालेपछि आश्चर्यमा परेका छन् । इलाम नगरपालिका ९ स्थित सेरामा निर्माण भएको बसपार्क सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाले इलाम नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षा कोठा तयार गरेर काम अध्ययन सुरु भएको छ । ल्याब र पुस्तकालय सहित क्याम्पस सञ्चालन भइरहेको छ । कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गरिएको हो । यो क्याम्पस सञ्चालनमा आएपछि जिल्ला भित्रका मात्र हैन बाहिरी जिल्लाहरुबाट समेत विद्यार्थीहरु आउने अपेक्षा लिइएको छ । तर इलाम बाहिरबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसमा आएर अध्यन गर्दै गरेका लोकसेवा सुनिष्चित नभएको भन्दै अझै आन्दोलित छन् । उनीहरु लामो समयदेखी नै आन्दोलित हँदै आएका छन् । पुनः अर्को कृषि क्याम्पस आएपनि लोकसेवा सुनिश्चित हुनु पर्ने विद्यार्थीहको माग रहेको छ । बसपार्क निर्माणका लागि दुई चरमा गरेर चार करोड १२ लाख खर्च भएको बताइएको छ । प्रथम चरणममा एक करोड आठ लाख रुपैयाँमा र दोस्रो चरणमा तीन करोड ४ लाख रुपैयाँ खर्च भएको थियो । बसपार्क निर्माण हुने भन्दै स्थानियले साढे १० रोपनी जग्गा निःशुल्क दिएका थिए । उनीहरु समेत एउटा कामका लागि दिइएको जग्गा अर्कै काममा गएपछि आक्रोशित भएका छन् । हाल इलाम नगरपालिकाले ब्यक्तिको जमिन भाडामा लिएर बसपार्क सञ्चालन गरिरहेको छ । ब्यक्तिको जमिन भाडामा लिएर सम्पन्न भएको बसपार्कलाई ओझेलमा पारेको स्थानियको भनाइ छ । उनीहरुले सम्पन्न भएको बसपार्कमा बस राख्न र सोहि ठाउँबाट यात्रु आवतजावतको माग गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार