इलाम : गत असोज १८ गतेको विनाशकारी वर्षापछि आएको भीषण बाढीले इलाममा व्यापक क्षति पु¥याएको छ । ज्यान जोगाउन खोलाबाट भागेका बाढीपीडित अहिले चिसो बढ्दै जाँदा पालमुनी रात बिताउन बाध्य भएका छन् । राहतका सामग्री पुगे पनि पर्याप्त नहुँदा उनीहरूको दैनिकी झन् असहज बन्दै गएको छ ।
इलाम नगरपालिका–१० माइखोला टापुकी जानुका परियारले संघ, संस्था तथा स्थानीय सरकारबाट सहयोग आए पनि त्यो जीवन चलाउनका लागि पर्याप्त नभएको बताइन् । “खानका लागि चामल र सामान्य तरकारी छ, तर चिसो भुईमा सुत्दा रात काट्न गाह्रो भएको छ,” परियारले भनिन् ।
त्यसै गरी सोही वडाकी सुकमाया तामाङले स्थानीय सरकारले दिएको प्लास्टिकको म्याट र सामान्य ओढ्ने–ओछ्याउने सामग्रीले जाडोमा नताम्ने गुनासो गरिन् । उनका अनुसार सुत्केरी, गर्भवती महिला, दीर्घरोगी र बृद्धबृदाहरूको अवस्थाको झनै नाजुक बनेको छ ।

काखमा सानो शिशु बोकेर पालमुनी बसिरहेकी कन्चन लिम्बुको अवस्था झन् दयनीय छ । वडा र पालिकाबाट केही राहत पाए पनि परिवारका कसैको नागरिकता नभएकाले आगामी राहत वितरणमा बन्चित हुने डर उनले व्यक्त गरिन् । “न पोसिलो खाना छ, न त सफा र तातो ठाउँमा बस्न पाइएको छ,” लिम्बुले भनिन् ।
बाढीपीडितहरूका अनुसार रातभर पालभित्र चुहिने शीतका कारण ओढ्ने कम्बल र ओछ्याउने कपडा भिज्ने गर्छ । न तातो कपडा छ, न बाल्ने दाउरा । संघ, संस्था र स्थानीय सरकारका तर्फबाट आएको राहतले तत्कालीन समस्या त धाने पनि स्थायी समाधान भने भएको छैन ।
माइखोला बगरमा बस्दै आएका अधिकांश परिवार गिटी कुटेर जीविका चलाउँथे । बाढीले रोजगारी नै बगाएपछि उनीहरूमा अब कसरी घर खर्च चलाउने र बच्चाहरूलाई स्कुल पठाउने भन्ने चिन्ता थपिएको छ । “एक गाडी गिटी फोरेर तीन हजारजति आम्दानी हुन्थ्यो, अहिले त्यो पनि बन्द छ,” एक स्थानीयले भने ।

माइखोलाको बाढीले २६ घर पूर्णरूपमा बगाएको र बाँकी १० घर माटोको लेदोले पुरिएको इलाम नगरपालिका–१० का प्रतिनिधिहरूले जनाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सो दिनको बाढीका कारण जिल्लाभर ३९ जनाको मृत्यु भएको थियो । ३३६ घर पूर्णरूपमा क्षतिग्रस्त र ८२८ घर आंशिक क्षतिग्रस्त भएका छन् । अहिले पनि ११ परिवार सामुदायिक भवनमा र ४३८ परिवार आफन्त वा छिमेकीको घरमा आश्रित छन् ।
सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरे पनि पीडितहरूले त्यसको प्रत्यक्ष अनुभूति गर्न सकेका छैनन् । उनीहरू भन्छन्, “घोषणा मात्रै होइन, अब त वास्तविक राहत र पुनःस्थापनाको आवश्यकता छ ।”
प्रतिक्रिया