बन्दीपुर : अघिल्लो वर्ष सुन्तला बेचेर तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ४का गणेश गुरुङले २२ लाख रुपैया आम्दानी गरेका थिए । रिपका गाउँका किसान गुरुङले यस वर्ष २५ लाख रुपैयाको सुन्तला बेच्ने तयारी गरेका छन् ।
विगतमा अरुलाई नै ठेक्कामा दिएर सुन्तला बेच्दै आएका सुन्तला किसान गुरुङले यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै छन् । अहिलेसम्म १० लाख रुपैयाको सुन्तला बेचिसकेको र बगैँचामा अझै कम्तीमा १५ लाख रुपैया बराबरकोे सुन्तला रहेको गुरुङले बताए । “यसपालि २० लाख ३६ हजारमा बगैँचाको सबै सुन्तला किन्नेगरी ठेक्कामा देनु भन्दै व्यापारी आएका थिए, मैले दिइनँ,” गुरुङले भने, “ठेक्कामा दिनुभन्दा आफैँले बेच्दा राम्रो होला भनी नदिने निधो गरँे ।”
विसं २०५७ मा करिब २२ रोपनी जग्गा लिएर २०५८ सालमा करिब एक हजार बिरुवा रोपी सुन्तला खेती गर्दै आएका गुरुङको बगैँचामा अहिले तीन हजारभन्दा बढी सुन्तलाको बोट रहेका छन् । उनको बगैँचामा वर्षभरि नै दैनिक तीन जनालाई नियमित रुपमा रोजगारी मिलेको र अहिले सुन्तला टिप्ने, बोक्ने समयमा भने छ–सात जनाले काम पाइरहेका छन् ।
अन्य कुनै पनि खेतीपाती नहुने भिरालो, चिसो जमिनमा लगाएको सुन्तलाबाट बर्सेनि मनग्ये आम्दानी हुने गरेको जानकारी दिँदै आफूले उत्पादन गरेका सुन्तला स्थानीय बन्दीपुर बजारसहित डुम्रे, दमौली, पोखरा र चितवनका बजारहरूमा बिक्री हुने गरेको गुरुङले जानकारी दिए ।
बन्दीपुर क्षेत्रका सुन्तला किसानका अनुसार वर्षमा १० लाख रुपैया कमाउन गाउँबाहिर जानु पर्दैन, गाउँघरकै भिरपाखामा सुन्तला लगाए १०–१५ लाख रुपैया कमाउन गाह्रो छैन । “बन्दीपुरका सुन्तला भन्ने बित्तिकै एउटा ‘ब्रान्ड’ छ, बन्दीपुर पहिलेदेखि नै सुन्तलाका लागि प्रसिद्ध ठाउँ हो। बीचमा रोग सुन्तलामा लागेर समस्या पनि भयो,” सुन्तला किसान कृष्णबहादुर गुरुङले भने , “तर पनि हामीले बन्दीपुरमा सुन्तला बचाएका छौँ, घरमै बसी राम्रो आम्दानी गर्न सफल भएका छौँ ।”
स्थानीय सुन्तला किसानका अनुसार बिरुवा लगाएको करिब तीन वर्षदेखि नै उत्पादन सुरु हुन्छ । आफ्ना बालबच्चालाई जस्तै गरी सुन्तलाको स्याहार गर्नुपर्दछ । कीराको प्रकोप, जीवाणु तथा ढुसीजन्य रोग, जरा कुहिनेलगायतका समस्याबाट सुन्तलालाई जोगाउन भने त्यति सजिलो छैन, बगँैचामै काम गरी रमाइरहे सुन्तलाले पनि राम्रै आम्दानी दिने रहेछ ।
प्रतिक्रिया