एनपीएलमा सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्लेअफमा सुरक्षित

शुक्रबार, १९ मंसिर २०८२

काठमाडौँ : काठमाडौँमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले हराउँदै पहिलो ‘क्वालिफायर’मा स्थान सुरक्षित गरेको छ ।

यससँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ । सुदूरपश्चिमले अहिलेसम्म खेलेका ६ वटै खेल जित्दै १२ अङ्कसहित शीर्षस्थान जोगाएको छ ।

यो हारसँगै चितवनको प्लेअफ यात्रा जटिल बनेको छ । ६ खेलमध्ये ४ मा पराजित चितवनले २ जितबाट ४ अङ्क मात्रै जोडेको छ । अन्तिम खेल जिते पनि अन्य टोलीको नतिजामा निर्भर रहनुपर्नेछ ।

चितवन पराजित भएपछि विराटनगर किंग्स तेस्रो टोलीका रूपमा प्लेअफमा प्रवेश गरेको छ । ६ खेलमा ४ जित र २ हारसहित विराटनगर ८ अङ्कसँग तेस्रो स्थानमा छ । अब अन्तिम चारको एक स्थानका लागि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा रहनेछ ।

शुक्रवार जनकपुरलाई हराए लुम्बिनी ८ अङ्कसहित प्लेअफमा पुग्नेछ र अन्य तीन टोली बाहिरिनेछन् । जनकपुरले जिते प्लेअफ समीकरण अझै रोचक हुनेछ।

लुम्बिनी ६ खेलपछि ६ अंकमा छ भने पोखरासँग ४ अङ्क छ । जनकपुरले पाँच खेलमा २ अङ्क मात्रै जोडेको छ । जनकपुर शुक्रवार लुम्बिनी र आइतबार कर्णालीविरुद्ध खेल्नेछ । कर्णाली पहिले नै प्लेअफबाट बाहिरिइसकेको छ ।


सुदूरपश्चिमको १७० को लक्ष्य पछ्याउने क्रममा चितवन १२० मा समेटियो

१७० रनको लक्ष्य पछ्याउँदै चितवन १२० रनमै अलआउट भयो । रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन बनाए । अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । सुदूरपश्चिमका पुनीत मेहरा, दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बोहरा र ईशान पाण्डेले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेका सुदूरपश्चिमले ४ विकेटमा १६९ रन बनायो । कृश लिनले ५६ बलमा ७५ रनको पारी खेले । कप्तान दीपेन्द्र ऐरी र आरिफ शेखले २४–२४ रन जोडे भने विनोद भण्डारीले २१ रन बनाए । चितवनका सैब जैबले २ विकेट लए भने रञ्जित कुमार र जर्ज स्क्रिमसोले १–१ विकेट हात पारे ।


पोखरालाई हराउँदै काठमाडौँ गोर्खाज प्लेअफमा

साहब आलमको उत्कृष्ट बलिङसँगै काठमाडौँ गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौँले प्लेअफ स्थान पक्का गर्‍यो । यससँगै शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनाएको छ।

लिग चरणका सात खेल सक्दा काठमाडौँले ५ जित र २ हारसहित १० अङ्क जोडेर दोस्रो स्थानमा छ । अब बाँकी खेलको नतिजाले शीर्ष दुईमा रहने/नरहने टुङ्गो लाग्नेछ । उता ६ खेलमा चौथो हार बेहोरेको पोखरासँग ४ अङ्क मात्र छ र प्लेअफ सम्भावना कमजोर बनेको छ ।

१६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभर पुरा खेल्दै १० विकेटमा १५२ रन मात्र बनायो । काठमाडौँका साहब आलमले २०औँ ओभरका पहिलो तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए, यो एनपीएलको यस सिजनको पहिलो ६ विकेट हो ।

पोखराका ऋषि धवनले ३१ बलमा ३ चौका र २ छक्का सहित ५४ रन बनाए भने धनञ्जय लक्षनले ३० रन योगदान दिए । धवन–लक्षनले पाँचौँ विकेटका लागि ७६ रनको साझेदारी गरे पनि त्यसपछि रन गति घट्यो।


काठमाडौँको इनिङ्स : चाल्र्सवर्थ र भीम सार्की चम्के

पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ८ विकेटमा १६५ रन बनायो । ओपनर बेन चाल्र्सवर्थले ५५ बलमा ६ चौका र २ छक्का सहित ६४ रन बनाए । आक्रामक पारी खेलेका भीम सार्कीले १९ बलमा अर्धशतक प्रहार गर्दै २३ बलमा ५ चौका र ४ छक्का सहित ५५ रनको योगदान दिए ।

७९ रनमा ५ विकेट गुमाएको काठमाडौँलाई चाल्र्सवर्थ–सार्कीले छैटौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै उकासे ।

आकाश त्रिपाठी खाता नखोली आउट भए, रासिद खान ७ रनमा, मिलिन्द कुमार १३ रनमा आउट भए । जोन सिम्पसन २ तथा मोहम्मद आदिल आलम ७ रनमा रोकिए ।

पोखराका धनञ्जय लक्षनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले २ र विपिन खत्री तथा किरण ठगुन्नाले १–१ विकेट जोडे ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार