काठमाडौं । यथार्थपरक विषयवस्तु र सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा उठान गरिएको नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ ‘डिसहोम गो’मा उपलब्ध भएको छ । समाजमा विद्यमान विभेद, पूर्वाग्रह र मानवीय मूल्यका विषयलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने यो चलचित्रले समावेशिता, समानता र मानवअधिकारको सशक्त वकालत गरेको छ ।
चलचित्रको कथावस्तु कमलामाईको वरिपरि घुम्छ, जहाँ जनकपुर आसपासका तेस्रो लिंगी समुदायको नेतृत्व, संरक्षण र सम्मानका लागि गरिएको संघर्षलाई मार्मिक रूपमा चित्रण गरिएको छ । समाजमा व्याप्त असहिष्णुता र भेदभावविरुद्ध मानवीयताको पक्षमा लडिएको घटनाक्रम चलचित्रको केन्द्रीय कथानक हो ।
झरना थापाको निर्देशनमा बनेको यस चलचित्रमा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ तथा कबीर खड्काको प्रभावशाली अभिनय रहेको छ । कलाकारहरूको सशक्त प्रस्तुतिले कथालाई अझ जीवन्त बनाएको दर्शकहरूको प्रतिक्रिया छ ।
‘एक भागवत र एक गीता’ दर्शकहरूले नेपालभित्र २२५ रुपैयाँ र नेपालबाहिर १.९९ अमेरिकी डलर तिरेर डिशहोम गोमार्फत हेर्न सक्नेछन् ।
डिशहोम गो नेपाली ओटिटी प्लेटफर्म हो, जहाँ नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र, शृंखला, टेलिभिजन कार्यक्रम, खेलकुद, छोटा चलचित्र तथा नेपाली भाषामा डब गरिएका कोरियन नाटकसहित विविध श्रव्यदृश्य सामग्री सहज रूपमा उपलब्ध छन् । जहाँसुकै र जुनसुकै समयमा गुणस्तरीय मनोरञ्जनका लागि डिसहोम गो दर्शकको भरपर्दो माध्यम बन्दै आएको छ ।
प्रतिक्रिया