काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिँदै छ । यसअघि मंसिर १७ देखि सुरु गरिएको काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान पूरा भएको छ ।
आजदेखि सशस्त्र प्रहरीका आईजी अर्यालको बयान लिइने आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले रातोपाटीलाई बताए । उनले भने, ‘आज उहाँलाई बोलाएका छौँ ।’
गौरीबाहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेलसँग बयान लिइसकेको छ । सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठको पनि बयान लिइएको छ । अर्यालको बयान पूरा भएसँगै नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की र पूर्व आईजीपी चन्द्रकुवेर खापुङसँग बयान लिने तयारी गरिएको आयोगका एकजना पदाधिकारीले बताए ।
आयोगले यसअघि प्रहरीका डीआईजी ओम राना र एआईजी सिद्धिविक्रम शाह सहितका अधिकृतहरुसँग बयान लिएको थियो । जेनजी प्रदर्शन हुँदा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए । अहिले उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् ।
प्रतिक्रिया