आगजनीबाट ध्वस्त बनेको यातायात कार्यालय इटहरी पुनः स्थापनाको सङ्घर्षमा, टहराबाट सेवा दिँदै

शुक्रबार, ०४ पुस २०८२

इटहरी : गत भदौ २४ गते भएको ‘जेन्जी आन्दोलन’को क्रममा देशका विभिन्न स्थानमा सरकारी कार्यालयमा आगजनी हुँदा राज्य संयन्त्रमा गम्भीर क्षति पुग्यो । सोही क्रममा सुनसरीको इटहरीमा रहेको यातायात व्यवस्था कार्यालय र सवारी पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसबाट झन्डै रु.पाँच करोड २८ लाख रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

आगजनीले कार्यालयका अधिकांश शाखा ध्वस्त हुनुका साथै सवारी दर्ता किताब, फाइल तथा महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका थिए । आगजनीले कार्यालयका अधिकांश शाखा पूर्ण रूपमा ध्वस्त भए पनि गत असोज २९ गतेदेखि अस्थायी रूपमा टिनले बारेर बनाइएको टहराबाट केही महत्त्वपूर्ण सेवा पुन सञ्चालन सुरु गरिएको कार्यालय प्रमुख मानबहादुर देवकोटाले बताए ।

कार्यालय प्रमुख देवकोटाका अनुसार, ट्याक्टर शाखा बाहेकका सबै शाखाका अभिलेख नष्ट भएको छ । कोसी प्रदेश सरकारले गत कार्तिक १६ गते जारी गरेको ‘बाधा अड्काउ फुकाऊ आदेश’पछि कार्यालयले कार्तिक ३० गतेदेखि सोही टिनको टहराबाटै सबै सेवा पूर्ण रूपमा सुचारु गरेको उनले बताए ।

देवकोटाले भने, हामीले अस्थायी रूपमा टिनले बारेर बनाइएको संरचनाबाटै भए पनि सेवा निरन्तर दिने प्रयास गरेका छौ । स्विस विकास नियोगको सहयोगमा निर्माण भइरहेको भवन बनिसकेपछि त्यहाँबाट मोटरसाइकल शाखाका रूपमा सेवा दिइनेछ, जसमा नयाँ दर्ता, सरुवा र नवीकरण सेवा एकै स्थानबाट प्रदान गरिनेछ । यसले सेवाग्राहीलाई अझ सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ र कार्यालय सञ्चालनमा थप राहत पुग्नेछ ।

आगजनीका कारण नामसारी, सरुवा तथा सवारी प्रतिलिपि जारी प्रक्रियामा केही ढिलाइ भए पनि सेवा क्रमशः सहज बन्दै गएको प्रमुख देवकोटाको भनाई छ ।तर, अभिलेख नष्ट हुँदा कैफियत भएका सवारी साधनको गलत प्रतिलिपि जारी हुने जोखिम र रिकण्डिसन व्यवसायी तथा विदेशमा रहेका नेपालीका सवारी साधनको स्वामित्व हस्तान्तरणमा केही समस्या देखिएको छ ।

WhatsApp Image 2025-12-19 at 8.46.07 AM

प्रदूषण परीक्षणका उपकरण र जेनरेटर जलेर नष्ट हुँदा ती सेवा हाल सञ्चालनमा आउन सकेका छैनन् । ठुला सवारीका लागि पर्याप्त प्राङ्गण र सहायक मार्गमा पुल नहुँदा सेवा प्रवाहमा थप चुनौती आएको कार्यालयले जनाएको छ ।

मोरङको बेलबारीबाट आउनु भएका सेवाग्राही अमिर तामाङले मोटरसाइकलको बिलबुक नवीकरणका लागि कार्यालय पुगेको बताउँदै भने ,भदौको जेन्जी आन्दोलनका क्रममा कार्यालय जलेपछि सेवा पाइन्छ कि भन्ने अन्योल थियो । तर टिनले बारेर बनाइएको अस्थायी संरचनाबाटै भए पनि सर्वसाधारणलाई सेवा उपलब्ध गराइनु सकारात्मक पक्ष हो । अभिलेख नष्ट भएकाले केही ढिलाइ भए पनि कर्मचारीहरूले प्रक्रिया स्पष्ट रूपमा जानकारी गराउँदै सहयोग गर्नु भएको छ । कठिन परिस्थितिमा पनि सेवा निरन्तरता दिने प्रयासले सेवाग्राहीलाई राहत मिलेको छ ।

क्षतिग्रस्त भवनको पुनर्निर्माण तथा सबलीकरणका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको छ भने थप कम्प्युटर, प्रिन्टर, फर्निचर र आवश्यक उपकरण उपलब्ध गराउन प्रदेश सरकार र सहयोगी निकायसँग सहयोगको लागि कार्यालयले आग्रह गरेको छ ।

कार्यालय प्रमुख देवकोटा भन्छन् हामी छोटो अवधिमै टहराबाटै भए पनि सेवाग्राहीको सहयोगमा उभिएका छौँ । कठिन परिस्थितिबाट बिस्तारै सेवा सहज बनाउँदै लगिरहेका छौ । गुणस्तरीय सेवा र पारदर्शितामाथि केन्द्रित छौ । नयाँ भवन पूरा भएपछि सेवाग्राहीलाई अझ सहज र गुणस्तरीय सेवा प्रदान गर्न सकिनेछ, जसले कार्यालय सञ्चालनमा पनि थप राहत पुग्नेछ ।

गत भदौको जेन्जी आन्दोलनका क्रममा भएका आगजनीका घटनाले राज्यका सेवा प्रवाह गर्ने निकायहरूलाई ठूलो क्षति पु¥याएको भए पनि प्रभावित कार्यालय पुन स्थापनासँगै पुरानो लयमा फर्कन सङ्घर्षमा जुटिरहेको छ । 

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार