इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सारिने भएको छ । केन्द्र सार्ने निर्णय गाउँसभाले गरेको हो ।
गाउँसभाको आइतबार बसेको बैठकमा २७ जनाले केन्द्र सार्ने पक्षमा मतदान गरेका थिए । ६ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए ।
पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र वडा नम्बर–५, भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।
मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दिए ।
कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा पालिकाको केन्द्र स्थापनाका लागि भन्दै भौंसाबारीमा १ बिघा जग्गा २ करोड ५ लाख रुपैयाँमा खरिद गरेको थियो ।
गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेस गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले खरिद गरेको हो ।
उक्त जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद हुँदै आएको थियो ।
गाउँसभाबाट केन्द्र सार्ने निर्णय भएसँगै अब विवाद साम्य भएको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया