धरान । अन्तर्राष्ट्रिय बक्सिङ एसोसिएसनद्वारा मान्यता प्राप्त प्रोफेसनल तथा एमाच्योर बक्सिङको दोस्रो संस्करण ‘धरान फाइट नाइट’ माघ २३ गते धरानमा आयोजना हुने भएको छ। धरान बक्सिङ संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको जानकारी दिएको हो। प्रतियोगितामा देशभरबाट १४ जना बक्सर सहभागी हुनेछन्।
संघका सचिव महेश आले मगरका अनुसार अघिल्लो संस्करणका विजेता धरानका बक्सर सिंहवीर लिम्बूसहित १४ जना बक्सर रिङमा उत्रिनेछन्। माघ २३ गते शुक्रबार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङमा साँझ ४ बजेदेखि प्रतियोगिता सुरु हुनेछ। प्रोफेसनल तर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लब काठमाडौँका प्रदीप महर्जन र नाङजा बुढा मगर, नेपाल पुलिस क्लब काठमाडौँका प्रदीप पार्की, धरानका अनिष भूजेल र मनोज तामाङ तथा नक्साल क्लब काठमाडौँका रिवाज तामाङले प्रतिस्पर्धा गर्नेछन्।
एमाच्योर तर्फ धरानका मौसम राईविरुद्ध धनकुटाका अविनास राई, धरानका नामसाङ लिम्बूविरुद्ध काठमाडौँका रोमश श्रेष्ठ तथा धरानका युनिक राईविरुद्ध काठमाडौँका वाङदी शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। महिला प्रोफेसनल तर्फ रमिशा श्रेष्ठ र नाङजा बुढा मगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। पुरुष प्रोफेसनल तर्फ सिंहवीर लिम्बू र प्रदीप महर्जन, अनिष भूजेल र रिवाज तामाङ तथा प्रदीप पार्की र मनोज तामाङबीच प्रतिस्पर्धा हुने तय भएको छ।
आयोजक संघका अध्यक्ष दिपक राईका अनुसार प्रोफेसनल तर्फ प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै एमाच्योर तर्फ प्रथमलाई १० हजार र दोस्रो हुनेलाई ५ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ। पत्रकार सम्मेलन पहिलो ओलम्पियन तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष तथा धरान बक्सिङ संघका संरक्षक नरेन्द्र पोमो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष तथा धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई (झापाली), अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई, कोशी बक्सिङ संघका उपाध्यक्ष अभिषेक श्रेष्ठ, सुनसरी बक्सिङ संघका अध्यक्ष सुधिरसिंह लिम्बू, प्रशिक्षक निमा तामाङ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थिति रहेको थियो।
धरान फाइट नाइट सम्पन्न गर्न धरान उपमहानगरपालिका, धरान खेलकुद मञ्च तथा पूर्व खेलाडी गंगाप्रसाद राई, राजेश गुरुङ, ज्योतिप्रसाद लिम्बू, नविन लिम्बू, अमृत लिम्बू र अरुण लिम्बूको सहयोग रहेको संघले जनाएको छ। धरान बक्सिङ संघले बक्सिङको विकासका लागि धरानका विद्यालय तथा कलेजका विद्यार्थीलाई निःशुल्क प्रशिक्षण दिँदै आएको, धनकुटाका खेलाडीलाई धरानमै आवासीय व्यवस्थासहित तालिम प्रदान गरिरहेको र भविष्यमा धरानलाई बक्सिङको क्षेत्रमा फरक पहिचान दिलाउने लक्ष्यसहित काम गरिरहेको सचिव महेश आले मगरले जानकारी दिए।
प्रतिक्रिया