एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेन्जी आन्दोलनलाई फरक दृष्टिले मूल्याङ्कन

विहीबार, १५ माघ २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरेको छ । पार्टीका अनुसार हाल सङ्गठनका विभिन्न तहमा ४० वर्षमुनिका युवाको उपस्थिति अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ भने आगामी निर्वाचनमा पनि युवालाई पहिलाभन्दा बढी अवसर दिने तयारी भइरहेको छ ।

नेकपा एमालेका स्वयंसेवक (भोलेन्टियर) केन्द्रीय सदस्य कृष्ण सागर ओलीले युवाप्रति पार्टीको विश्वास स्पष्ट देखिने गरी बढेको बताए । उनका अनुसार पछिल्लो महाधिवेशनमा युवा वर्गलाई नेतृत्व तहमा ल्याउन विशेष प्राथमिकता दिइएको थियो । केन्द्रीय कमिटीमै पनि युवाको सङ्ख्या अन्य दलको तुलनामा बढी रहेको उनले दाबी गरे ।

उनका अनुसार एमालेले युवालाई केवल समर्थक वा कार्यकर्ता मात्र नभई नीति निर्माण र सङ्गठन विस्तारको जिम्मेवारीमा पनि संलग्न गराउँदै आएको छ । स्वयंसेवक संरचनामार्फत युवाको सक्रियता बढाइएको र पार्टीका कार्यक्रम तथा अभियानमा युवाले निर्णायक भूमिका खेल्दै आएको उनको भनाइ छ ।


जेन्जी आन्दोलनबारे टिप्पणी गर्दै ओलीले पार्टीले त्यसलाई सामान्य पुस्तागत आन्दोलनका रूपमा नलिएको बताए । उनका अनुसार उक्त आन्दोलनलाई राजनीतिक अस्थिरता र बाह्य हस्तक्षेपको सन्दर्भमा मूल्याङ्कन गरिएको छ। यद्यपि, आन्दोलनपछि युवाको भूमिका र महत्वलाई अझ गम्भीर रूपमा लिनुपर्ने निष्कर्षमा पार्टी पुगेको उनले उल्लेख गरे ।

पार्टीभित्रको आन्तरिक अवस्थाबारे बोल्दै ओलीले महाधिवेशनपछि एमाले एकताबद्ध रहेको दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सबै पक्षलाई समेटेर अगाडि बढाइएको बताउँदै, कसैलाई अवसर नदिइएको भन्ने आरोपलाई उनले अस्वीकार गरे ।


देशको आर्थिक अवस्था र युवाको रोजगारीबारे उनले समस्या दीर्घकालीन रहेको बताए। तत्काल समाधान सम्भव नभए पनि उद्योग, पूर्वाधार विकास र सीपमूलक कार्यक्रममार्फत युवालाई देशमै रोजगारी सिर्जना गर्ने नीति एमालेको रहेको उनले बताए। वैदेशिक रोजगारीतर्फ जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य पार्टीको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

हालको राजनीतिक अवस्था सन्दर्भमा ओलीले संवैधानिक प्रक्रिया र संसद्को स्थायित्व आवश्यक रहेको बताए । राजनीतिक अस्थिरताले देशलाई थप आर्थिक र सामाजिक जोखिममा पार्ने भन्दै अनुभवी नेतृत्व, स्थिर सरकार र युवाको सक्रिय सहभागिताबाट मात्र देश अगाडि बढ्न सक्ने उनले दाबी गरे । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार