सम्बन्ध विच्छेदका कारण बालश्रम बढ्दै

शनिबार, १७ माघ २०८२
Pic: AI

भोजपुर : सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा गम्भीर असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् ।

वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् ।

आमा–बुवाको सम्बन्ध विच्छेदबाट सिर्जित आर्थिक अभाव, भावनात्मक अस्थिरता तथा अभिभावकत्वको कमीका कारण उनीहरू घरेलु काम, होटल, सवारीसाधन मर्मत गर्ने ग्यारेज, कृषि तथा साना उद्योगमा श्रम गर्न विवश भएका छन् ।

साल्पासिलिछो गाउँपालिकाका एक १६ वर्षीय बालक खेतबारी जोत्नेदेखि अर्मपर्म र ज्यालादारी काम गर्दै आएका छन् । पारिवारिक बेमेलका कारण घरखर्च धान्न बाध्य भएर अरूको खेतबारीमा काम गर्नुपरेको उनले बताए ।

स्थानीय सामाजिक अभियन्ताहरूका अनुसार सम्बन्ध विच्छेदपछि आमाबुवामध्ये एक जना रोजगारीका लागि बाहिरिनु, अर्काले पर्याप्त आम्दानी गर्न नसक्नु तथा पारिवारिक जिम्मेवारी कमजोर हुनु बालश्रम बढ्नुका मुख्य कारण बनेका छन् ।

अभिभावकको निगरानी र सहाराको अभावमा बालबालिका पढाइभन्दा श्रमतर्फ उन्मुख हुने गरेको उनीहरूको भनाइ छ ।

सम्बन्ध विच्छेदपछि बालबालिकाको संरक्षण, शिक्षा र मानसिक स्वास्थ्यमा राज्य तथा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

अभियन्ता सम्झना प्रधानका अनुसार बुवा–आमाको सम्बन्ध विच्छेदपछि पर्ने मनोवैज्ञानिक असरले बालबालिकाले पढाइ छोड्ने, आफन्तकहाँ गएर बस्ने तथा विभिन्न किसिमका काममा संलग्न हुने प्रवृत्ति बढ्दै गएको छ ।

पारिवारिक बेमेलले बालबालिकालाई श्रममा धकेल्ने अवस्था सिर्जना हुने उहाँको भनाइ छ । बालश्रम न्यूनीकरणका लागि परिवार परामर्श सेवा, अभिभावक सचेतना, विद्यालयमा पुनः भर्ना कार्यक्रम तथा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

सम्बन्ध विच्छेदको सामाजिक यथार्थसँगै त्यसबाट उत्पन्न बालश्रमको समस्यालाई समयमै सम्बोधन नगरे भविष्यमा अशिक्षा, गरिबी र सामाजिक विकृतिको चक्र अझै गहिरिने सरोकारवालाहरूको चिन्ता छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार