काठमाडौं : पछिल्ला केही महिनादेखि काठमाडौं उपत्यकामा चोरीका घटनाहरू अत्यधिक बढ्दै आएका थिए। अन्य समयको तुलनामा जेन–जी आन्दोलनपछि लुटपाट र चोरीका घटना झनै बढेको देखिएको हो। त्यसमा थप रूपमा सुन–चाँदीको अचाक्ली मूल्यवृद्धिले पनि अपराधलाई प्रोत्साहन गरेको प्रहरीको निष्कर्ष छ।
जेन–जी आन्दोलनताका कारागार तथा प्रहरी हिरासतबाट भागेका कैदीहरूले काठमाडौंको पेप्सीकोला र गोठाटार क्षेत्रलाई केन्द्र बनाएर कहिले ललितपुर त कहिले भक्तपुरसम्म पुगेर लुटपाट गर्दै आएको खुलेको छ।
राति ९ बजेदेखि सक्रिय हुने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरेसँगै उपत्यकाभित्र देखिएको नयाँ प्रकारको अपराध शृंखला बाहिर आएको हो। ती लुटेराहरूले विशेषगरी सडक र चोकमा एक्लै हिँड्ने महिलाले लगाएका सुन–चाँदीका गहना निशाना बनाउने गरेका थिए।
चोरीका तरिका उस्तै देखिन्थे। ठेलामा तरकारी बेच्ने व्यक्ति, कलेज पढ्ने विद्यार्थीको मोबाइल खोसिने घटना, बिहान मर्निङ वाकमा निस्किएका महिलासमेत लुटिने गरेका थिए। यस्तै घटना कहिले स्वयम्भू क्षेत्रमा, कहिले ललितपुर, बौद्ध, मूलपानी वा भक्तपुरको ठिमी क्षेत्रमा घट्ने गरेका थिए। मुख्य सडकभन्दा साइडका सडकहरूमा रातको समयमा मानिसहरू लुटिने समस्या तीव्र रूपमा बढेको थियो।
तीनवटा मोटरसाइकलमा तीन–तीन जना सवार युवाहरूले ‘हिट एन्ड रन’ शैलीमा केही मिनेटमै बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री, मोबाइल तथा पैसा लुटेर फरार हुने गरेका थिए। उनीहरूले प्रयोग गर्ने मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापिएको हुन्थ्यो, जसका कारण सीसीटीभी फुटेजमा नम्बर पहिचान गर्न कठिन हुन्थ्यो। प्रहरीले फेला पारेका अधिकांश सीसीटीभी फुटेजमा मोटरसाइकल नम्बर देखिँदैनथ्यो।
लुट्दा पैसा वा गहना नपाएमा उनीहरूले पीडितलाई कुटपिट गर्ने, कतिपय अवस्थामा कानको लोती नै चुँडाउने गरेको पाइएको छ। चोरीमा प्रयोग गरिएका मोटरसाइकलहरू उनीहरूले प्रायः लुकाएर राख्ने र दिउँसो प्रयोग नगर्ने गर्थे। प्रहरीको निरन्तर प्रयासका बाबजुद लामो समयसम्म गिरोह पक्राउ पर्न सकेको थिएन।
यसरी उपत्यकामा आतंक मच्चाउँदै आएको लुटेरा गिरोह अन्ततः पक्राउ परेको छ। मध्यरातमा लुटपाट गरिरहेको अवस्थामा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको हो। मंगलबार स्वयम्भू क्षेत्रमा सुनको सिक्री लुट्ने राजीव भण्डारी पक्राउ परेपछि उसकै सुराकीका आधारमा अन्य सदस्यहरू समातिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विशेष अप्रेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये अधिकांश पटके चोर रहेको र भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासत तथा कारागारबाट भागेका व्यक्ति रहेको खुलेको छ।
कागेश्वरी मनहरा नगरपालिका–६, मूलपानीबाट गिरोह पक्राउ परेपछि काठमाडौं, ललितपुर र भक्तपुरमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ। लामो समयसम्म लुटेरा नसमातिँदा स्थानीयवासी आजित बनेका थिए। कतिपयले प्रहरीकै लापरबाही वा मिलेमतो भएको आशंका समेत गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार लुटेरा समूह मध्यरातमा मात्रै निस्कने, केही मिनेटमै चोरी गरेर भाग्ने तथा चोरीका सामान ट्याक्सीमार्फत ओसारपसार गर्ने भएकाले उनीहरूलाई पक्राउ गर्न चुनौतीपूर्ण थियो। विभिन्न प्रहरी वृत्तसँग समन्वय गरी अनुसन्धान अघि बढाइएको थियो।

एसएसपी थापा भन्छन्, “अपराध गर्नेहरू केही समय मात्र भाग्न सक्छन्, एक न एक दिन पक्राउ परिहाल्छन्। चोरी भएका स्थानका सीसीटीभी फुटेजको विश्लेषणबाट गिरोह पहिचान गरिएको हो। अन्य संलग्न व्यक्तिको खोजी जारी छ।”
प्रहरीका अनुसार जेन–जी आन्दोलनपछि उपत्यकामा ६०–७० भन्दा बढी चोरीका घटना घटेका छन्। यही समूहविरुद्ध काठमाडौं प्रहरी परिसरमा मात्रै ३० भन्दा बढी उजुरी दर्ता भइसकेका छन्।
बुधबार साँझ मूलपानीमा प्रहरी र लुटेरा समूहबीच जम्काभेट भएको थियो। लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको हो। बुधबार साँझ ६ बजे सुरु गरिएको विशेष अप्रेसन बिहीबार बिहान ३ बजेसम्म चलेको थियो। सो क्रममा गोली लागेर घाइते भएका काभ्रेका २३ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिइएको छ। उनी नै लुटेरा समूहका नाइके रहेको प्रहरीको दाबी छ।
अनुसन्धानमा उनीहरू दिउँसो विभिन्न पेशामा संलग्न रहने गरेको खुलेको छ। कोही ट्याक्सी चालक, कोही ग्यारेजमा काम गर्ने, कोही प्राइभेट गाडी चलाउने तथा कोही सुन पसलमा काम गर्ने गर्थे।
एसएसपी थापाका अनुसार पक्राउ परेका अधिकांश व्यक्ति भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थुनुवा हुन्। उनीहरूले समूह बनाएर भदौ ३१ देखि लुटपाट सुरु गरेका थिए। सोही दिन कुमारीगालमा राति साढे ११ बजे सुनको औँठी र ६४ हजार रुपैयाँ लुटिएको उजुरी गौशाला प्रहरी वृत्तमा परेको थियो।
लुटेरा समूहका सदस्यहरू राति ९ बजे खाना खाएर छुट्टाछुट्टै इलाका तोकी राति १२ बजेदेखि बिहान ४ बजेसम्म लुटपाट गर्ने गर्थे। प्रहरीले राति मोटरसाइकल वा ट्याक्सीमा तीन जना सवार व्यक्तिहरूलाई लक्षित गरी खोजी तीव्र बनाएको थियो।
एसएसपी थापाले अत्यावश्यक कामबाहेक राति एक्लै हिँडडुल नगर्न, गरगहनाको प्रयोग कम गर्न र सर्वसाधारणलाई सजग रहन आग्रह गरेका छन्।
प्रहरीका अनुसार समूहका मुख्य योजनाकार २३ वर्षीय विनय तामाङ हुन्। उनी २०७९ सालमा पहिलोपटक चोरीमा पक्राउ परेका थिए भने २०८२ मा डाँका चोरीको आरोपमा महाराजगञ्ज प्रहरी वृत्तको हिरासतबाट फरार भएका थिए।
२४ वर्षीय ट्याक्सी चालक आयन माझी, सबिन माझी, मनीष रसाइली (सुन पसलमा काम गर्ने), पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ पनि पक्राउ परेका छन्। उनीहरू सबै पटके चोर भएको प्रहरीको भनाइ छ।
लुटपाटमा प्रयोग गरिएका ६ वटा मोटरसाइकल, एउटा कार र एउटा ट्याक्सी पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया