ड्युटीमा रहेका सशस्त्र प्रहरीका सईमाथि खुकुरी प्रहार

शनिबार, २३ बैशाख २०८०
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) माथि खुकुरी प्रहार भएको छ । गएराति दोधारा चाँदनी नगरपालिका वडा नम्बर - ७ कन्चनभोजमा ड्युटीमा रहेका कञ्चनभोज बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैसिरमाथि स्थानीय युवाको समूहले खुकुरी प्रहार गरेको हो । राति करिब १० बजेपछिको समयमा झोलुङ्गे पुलमा बसिरहेका किशोरावस्था र युवावस्थाका १०/१५ जनाको एक समूहलाई राति-राति घुमफिर नगर्न र आ-आफ्नो घर जान सशस्त्र प्रहरीको गस्ती टोलीले सुझाएको थियो । गस्ती टोली केही पर पुगी फर्किँदा सोही समूहका एक जना रोहन बयकले खुकुरी प्रहार गर्दा सई चैसिर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । सई चैसिरको हातमा चोट लागेको छ भने आक्रमणकारी फरार रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीको खोजी गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरीले जानकारी दिएको छ । उक्त क्षेत्रमा लागू औषध ओसारपसार र चोरी तस्करीसमेत मौलाउँदै गएको र त्यसको नियन्त्रणका लागि खटिएको सुरक्षा निकायमाथि बेलाबेलामा आक्रमणका घटना हुँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार