इलाम । कृषि तथा पशुपालनमा थपिएका चुनौतीसँगै बीमा गर्न पनि समस्या रहेको किसानहरुले बताएका छन् । सरकारले कृषि बाली तथा पशुपंक्षी बीमामा ८० प्रतिशत बीमा कम्पनीलाई अनुदान दिएपनि कृषि बीमाको बारेमा प्राविधिक सल्लाह र जानकारी नहुँदा हैरानी भएको किसानहरुको गुनासो छ ।
कृषि ज्ञान केन्द्र इलामले शुक्रबार आयोजना गरेको बाली तथा पशुपंक्षी बीमा सम्बन्धी सरोकारवालाहरुसँग समन्वय बैठकमा किसानहरुले विभिन्न समस्याका कारण बाली नालीमा समस्या रहेको बताए ।
किवी खेतीमा संलग्न देव कुमार राईले केही बीमा कम्पनीले आफ्नो किवी बगान हेरेपछि विमा गर्न नमानेको बताए । यस्तै किसानले स्ट्रवेरी तथा फलफूल खेतीमा जंगली जनावरले बढि क्षति पुर्याएपनि बीमा गर्न नपाएको बताए । बीमा कम्पनीहश्रले सेवा भन्दा वढि फाइदाका लागि काम गरिरहेको किसानहरुको भनाई छ । सरकारले पशु र बाली बीमामा किसानलाई सहयोग गरेको भएपनि कम्पनीले नै बीमा गर्न नमान्दा समस्या भएको उनीहरुको भनाई छ ।
कृषि ज्ञान केन्द्रले समन्वय बैठकमा किसानहरुका गुनाशा समेत समेटेको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले कृषि प्राविधिकहरुलाई पहिचान गर्ने सामग्रीको अभावले समस्या रहेको बताएका थिए । यस्तै कृषि बाली तथा पशुपंक्षि बीमामा काम गर्ने कम्पनी नेको इन्सुरेन्सका मिलन सुवेदीले सरकारबाट लिनुपर्ने भुक्तानीमा कठिनाई भएकाले तत्कालका लागि भने बीमा दावि बन्द गरिएको बताए ।
बैठकमा कृषि बालीमा भएको वास्तविक क्षतिको यकिन गर्नका लागि वास्तविक क्षति झल्कने भिडियो वा फोटो विमितले विमकलाई अनिवार्य रुपमा तत्काल उपलव्ध गराई सहजिकरण गर्ने निर्णय गरिएको छ । बीमा दावि विरोधमा भएका विषयवस्तुबाहेक जंगली जनावर र अन्य मौसमी प्रभावका कारण भएको क्षति थप गर्नलाई बीमा समितिमा सिफारीस गर्ने निर्णय गरेको छ ।
पशुपक्षिका हकमा हाल १ लाख २० हजार सम्म मात्र दावि भुक्तानी पाइने हुँदा इलाम जिल्लामा यो भन्दा बढि मुल्य पर्ने पशु समेत पालन भइरहेकोले एक लाख ५० हजार सम्म बीमा गर्न सकिने प्रस्ताव विमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।
स्थानीयस्तरका किसानहरुमा बीमा सम्बन्धि कार्यक्रमबारे थाहा नभएकाले कृषक र कृषि प्राविधिकबीच समन्वय गर्न र स्थानीय तहको बजेट, नीति तथा कार्यक्रममा समावेश गर्न स्थानीय तहहरुलाई लेखी पठाउने निर्णय गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बाली बीमा र पशुपंक्षि बीमामा देखिएका समस्या भएमा तत्काल समाधान गर्न सकिनेगरी निकास दिन सरोकारवालाहरुलाई सुझाव दिए । बैठक जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
केही किसानहरुले पशु र बाली बीमामा सरकारले दिएको छुट समेत आफुहरुले थाहा नपाएको बताएका छन् । किसानहरुलाई सौलियतका लागि सरकारले बीमामा छुट दिँदै आएको छ । तर छुट भएपनि बीमा कम्पनीहरुले अनेकन बहाना देखाएर बीमा गराउन नमान्दा किसान राहत पाउनबाट बन्चित भएका छन् ।
प्रतिक्रिया