विराटनगरमा अन्त्येष्टि गर्न लागिएको नाबालिकाको शव प्रहरीले उठायो

शनिबार, ०६ जेठ २०८०
विराटनगर ।  विराटनगरमा अन्त्येष्टिको तयारी हुँदै गर्दा एक नाबालिकाको शव प्रहरीले उठाएको छ । प्रहरीले अन्त्येष्टिमा रोक लगाउँदै शव उठाएर पोस्मार्टमका लागि विराटनगरकै कोसी अस्पताल ल्याएको हो । नाबालिकाको मृत्यु भने नालीमा डुबेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विराटनगर महानगरपालिका–१८ का गौतम मण्डलकी १८ महिने छोरी छोटी मण्डलको शव नालीमा डुबेर मृत्यु भएको अवस्थामा शनिबार बिहान १० बजेतिर फेला परेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरअगाडि रहेको डेढ फुटजति गहिरो नालीमा डुबेर नाबालिकाको मृत्यु भएको भनिए पनि अभिभावक र आफन्तले प्रहरीलाई घटनाको जानकारी नदिइकन शवको अन्त्येष्टि गर्न खोजेका थिए । नेपाल–भारत सीमा क्षेत्रको दशगजानजिक खाल्डो खनेर शव पुर्ने तयारी भइरहेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । खाल्डो खनेर गाड्ने अन्तिम तयारी गरिएको शव दिउँसो १ः१५ बजेतिर घटनास्थलबाट उठाएर प्रहरीले पोस्टमार्टमका लागि पठाएको हो । डीएसपी दाहालका अनुसार खेल्दै पुगेकी नाबालिकाको घरनजिक रहेको नालीमा डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको जानकारी स्थानीयले प्रहरीलाई गराएका हुन् । अकाल मृत्यु हुँदा प्रहरीलाई घटनाको जानकारी गराएर कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसका लागि शवको पोस्टमार्टम गर्नै पर्छ । दाहालले कानुनी प्रक्रिया पूरा गर्नुपर्छ भन्ने अभिभावकलाई थाहा नभएकाले प्रहरीलाई घटनाको जानकारी नदिइकन शवको अन्त्येष्टि गर्न खोजिएको बताए । ‘यस्ता घटनामा पूरा गर्नुपर्ने कानुनी प्रक्रियाका बारेमा प्रहरीले स्पष्ट पारेपछि शवको पोस्टमार्टम गराउन अभिभावक र आफन्त तयार भए,’ उनी भन्छन्, ‘त्यसपछि अन्त्येष्टिमा रोक लगाउँदै बालिकाको शव उठाएर अस्पताल ल्याइएको हो ।’ घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी दाहालले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार