विराटनगर । विराटनगर जेसीजले ‘स्वच्छ संसारीमाइस्थान अभियानू’ अन्तर्गत संसारीमाइस्थान सरसफाइ गरेको छ । मन्दिर परिसरमा गमला राखेर सौन्दर्य बढाउने पहल पनि थालिएको छ ।
विराटनगरको संसारीमाइस्थानमा आयोजित कार्यक्रममा उक्त क्षेत्र सरसफाइ तथा रङ्गरोगन गरिएको थियो भने विराटनगर जेसीजका सदस्यहरुबाट प्रायोजित गमला तथा बिरुवा राखिएको थियो ।
विराटनगरको छुट्टै पहिचानका रुपमा रहेको संसारीमाइस्थानलाई सफा र हराभरा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले बताए ।
कार्यक्रममा प्रमुख अतिथि मन्दिर ब्यवस्थापन समिति अध्यक्ष कृष्ण मास्केले मन्दिर क्षेत्र संरक्षणमा युवाहरुले गरेको प्रयासको प्रशंसा गरे ।
विराटनगर जेसीजका पूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठले विराटनगर जेसीजले यस वर्ष गरेका गतिविधिहरुलाई आफूले नजिकबाट नियालिरहेको र सम्पदा संरक्षण तथा प्रवर्द्धनमा विराटनगर जेसीज जोडिएको देख्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रमका संयोजक सरोज पौडेलले संसारीमाइस्थानलाई सफाइ गरेर गमला तथा बिरुवा राख्ने कार्यको जिम्मेवारी दिएकोमा विराटनगर जेसीज बोर्डलाई धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा यसै वर्ष बिराटनगर जेसीजमा जोडिएका नयाँ सदस्यहरुको सपथ ग्रहण पनि गराइएको थियो ।
प्रतिक्रिया