इटहरी । कोशी प्रदेश सरकारले सरकारी साधन दुरुपयोग गरेको पाइएको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा दलको उपनेतालाई गाडी सुविधा दिने व्यवस्था छैन तर कोशी प्रदेश सरकारले दलको उपनेतालाई यो सुविधा दिएको पाइएको छ ।
गत जेठ ३ गते इलामको माङसेबुङ गाउँपालिकामा कोशी प्रदेश सभा सदस्य तथा नेकपा (एमाले) संसदीय दलका उपनेता रामबहादुर राना मगर चढेको बा२झ ३७३७ नम्बरको गाडी तोडफोड भएपछि सुविधा दिएको खुलेको हो ।
नेपाली कांग्रेस कोशीप्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा दलको उपनेतालाई गाडी सुविधा दिने व्यवस्था छैन, तर गाडी त एमाले संसदीय दलका उपनेताले प्रयोग गरिरहनु भएकै रहेछ । ऐन, नियम र कानुनले नदिएको सुविधाभोग गर्न खोज्नु नै अनियमितता गर्नु, भ्रष्ट हुनु होइन र ?’
यस्तै राईले थपेका छन् ‘यतिवेला समाजमा जनप्रतिनिधिहरु धेरै सुविधाभोगी भए, भ्रष्ट भए, नैतिकवान भएनन् भनेर आलोचना भइरहेको छ । जनप्रतिनिधिहरुलाई नागरिकले हेर्ने दृष्टिकोण बदलिएको छ । तर सुधार्ने कसले ? हामीले नै होला त्यसैले सत्ताको दुरुपयोग गरी राज्य दोहन गर्ने प्रवृत्ति तत्काल रोकियोस् ।’
प्रतिक्रिया