गाँजा तस्कर पक्राउ गर्न खोज्दा प्रहरी घाइते, २२ किलो बरामद

आइतबार, ०७ जेठ २०८०
विराटनगर । विराटनगरमा गाँजा तस्करलाई पक्राउ गर्न खोज्दा शनिबार राति एक जना प्रहरी घाइते भएका छन् । विराटनगर महानगरपालिका–१८ मुसहरी टोली हुँदै भारततर्फ लगिँदै गरेको लागूऔषध गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् । नेपालबाट भारततिर गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बुधनगरबाट प्रहरी टोली खटिएको थियो । प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका थिए । गाँजा फ्यालेर भागेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा लडेर साह घाइते भएका हुन् । खुट्टामा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार नेपाल–भारत सीमानाका हुँदै भारततर्फ लैजाँदै गरिएको अन्दाजी २२ किलोग्राम गाँजा राति ११ः१५ बजेतिर बरामद गरिएको छ । बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गर्दैगर्दा विराटनगर–१८ मुसहरी टोलबाट गाँजा बरामद गरिएको उनले बताए । प्रहरी टोलीलाई देख्नासाथ फरार बनेका गाँजा तस्करीमा संलग्नको खोजी जारी राखिएको जानकारी दाहालले दिए । उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार