६१ लाखको सुनचाँदी चोर्ने समूह पक्राउ

विहीबार, ११ जेठ २०८०
विराटनगर । घर फोडेर सुनचाँदीका गहना चोरी गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–३ पिपल चोकको एउटा घर फोडेर सुनचाँदी चोरी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । गत जेठ ३ गते राति स्थानीय जयकिशोर चौधरीको घर फोडेर सुनचाँदी चोरी भएको थियो । चोरीमा संलग्न विराटनगर–१२ का १९ वर्षीय विवेक कामत, २१ वर्षीय राजकुमार कामत र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार विराटनगर–१२ कोसी प्रोजेक्टस्थि सडकबाट पक्राउ परेका तीनै जनाविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाको साथबाट चाँदीका सामान र गहना बरामद भएको छ । चौधरीले आफ्नो घरबाट ४१ लाख मूल्य बराबरको ३६ किलो चाँदी र २० लाख मूल्य बराबरको २० तोला सुन चोरी भएको जानकारी प्रहरीलाई गराएका थिए । खाँ ज्वेलर्सका सञ्चालक ज्योतिप्रसाद खाँसँगको साझेदारीमा चौधरीले सुनचाँदीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुनचाँदी र त्यसबाट निर्मित सामान भने चौधरीकै घरमा राख्ने गरिएको थियो । पक्राउ परेकाहरु यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको र पटक–पटक मुद्दा चलिसकेको खुलेको छ । पक्राउ परेकामध्ये विवेक चोरी मुद्दामै २०७९ साउन ४ गतेदेखि ९ महिना कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । उनी गत वैशाख २८ गते कारागारमुक्त भएको प्रहरीले जनाएको छ । यस्तै, डाँका चोरी मुद्दामा अदालतले दोषी ठहर गर्दै श्रीकान्तलाई २० महिना कैद सजाय सुनाएको थियो । उनी कैद सजाय भुक्तानका लागि २०७७ पुस २९ गतेदेखि २०७९ असोज ३ गतेसम्म कारागार बसेका थिए । कारागारबाट छुटेपछि पनि उनीहरु चोरीमै संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुले सुन भारतको जोगवनीमा लगेर ७ लाख रूपैयाँमा बिक्री गरेको प्रहरले जनाएको छ । पक्राउ परेकाको साथबाट ३५ किलो चाँदीका विभिन्न गहना र सामान तथा ८ ग्राम सुन बरामद भएको छ । भारतीय रूपैयाँ २ हजार ५ सय र नेपाली १ हजार ७ सय ३० रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । एसपी पोखरेलले चोरीमा संलग्न गिरोह पक्राउ गर्ने अधिकृतसहित ७ जना प्रहरीलाई पुरस्कृतसमेत गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार