इलाम । इलामको माई नगरपालिकामा निर्माणाधीन पुल निर्माणको काम गुणस्तरहीन पाइएको छ ।
माई–३ मुुसेटार र ढकाल कुइनेटो जोड्ने पक्की पुलको काम गुणस्तरहीन पाइएको हो । पुलको दोस्रो ‘स्ल्याप टेन्डर वायर’ तन्काउने क्रममा पुलको केही भाग धसिएको छ ।
८ करोड १५ लाखको लागमा निर्माणाधीन १०५ मिटर लामो पुल निर्माणको काम भइरहेको छ । यस पुल निर्माणको काम जयबिष्णु केएम जेबि कम्पनीले पाएको हो । २०७८ असार २२ मा ठेक्का पारेर पुलको काम थालिएको थियो । यसको काम आउने असार भित्रमा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
स्थानीयले पुलको काम रोक्न माग गरेका छन् । धस्सिएको भागलाई मर्मत गरेर ठेकेदार कम्पनीलाई काम अघि बढाउन उनीहरुले आग्रह गरेका छन् ।
निर्माण कम्पनीका ध्रुव उप्रेतीले पुलको ३ वटा स्ल्याप मध्ये एउटाको काम सम्पन्नपछि निर्माण हूँदै गरेको स्ल्यापको अन्तिम टेन्डर वायर तन्काउने क्रममा समस्या आएको स्वीकारेका छन् ।
उनले स्ल्यापमा प्रयोग हुने १२ वटा तारमध्ये ११ वटाको काम पुरा भएपछि अन्तिम तार तन्काउने क्रममा भाइब्रेटरको कमी र अत्यधिक तापक्रमका कारण मुनिको भागमा क्युरिङसँगै मसलाको कमीको कारण समस्या आएको बताए ।
उप्रेतीले पुननिर्माणमा गुणस्तरीय काम गर्ने बताएका छन् । उनले केही सामग्रीहरु नेपालमा नपाइने भएकाले भारतबाट ल्याएर भएपनि गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीयले कामको राम्रो अनुगमन गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया