विराटनगरमा पहिचान पक्षधरको कार्यक्रमस्थलबाट सञ्चार सेट बरामद

शनिबार, १३ जेठ २०८०
विराटनगर । विराटनगरमा पहिचान पक्षधरले कार्यक्रम आयोजना गरेको ठाउँबाट प्रहरीले सञ्चार सेट (वाकीटाकी) बरामद गरेको छ । कोसी प्रदेशको नाम खारेज हुनुपर्ने माग राखेर आन्दोलनरत पहिचान पक्षधरले लुकाएर राखेको सञ्चार सेट कार्यक्रमस्थलबाट बरामद भएको हो । यस्तो सेट सुरक्षा निकायले मात्रै प्रयोग गर्छन् । विराटनगरको संगम पार्टी प्यालेसबाट प्रहरीले शुक्रबार ४ थान सेट बरामद गरेको हो । पार्टी प्यालेसभित्र लुकाएर राखेको अवस्थामा सेट बरामद गरिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिए । कोसी प्रदेशको राजधानी विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका पहिचानवादीले संगम पार्टी प्यालेसमा ‘युवा दस्ता’ घोषणा कार्यक्रमको आयोजना गरेका थिए । ‘पहिचानका लागि युवा दस्ता’ नाम दिएर आयोजना गरिएको कार्यक्रमस्थलबाट सेट बरामद भएपछि प्रहरीले अनुसन्धान थालेको छ । ‘लुकाएर राखेको ठाउँबाट सञ्चार सेट बरामद भएको हो । पहिचान पक्षधरले नै प्रयोग गर्नका लागि ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी दाहालले भने, ‘यस्तो सेट सुरक्षा निकायबाहेक अरुले प्रयोग गर्न मिल्दैन । आवश्यकता परेमा सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ ।’ उनका अनुसार विशेष गरेर यस्तो सेट स्वीकृति लिएर सेक्युरिटी कम्पनीले र हाइड्रोपावर निर्माणस्थलमा प्रयोग गर्ने गरिएको छ । सम्बन्धित निकायसँग अनुमति लिएर आन्तरिक सञ्चारका लागि सुरक्षा गार्ड तथा पहाडी जिल्लातिर निर्माण गरिने हाइड्रोपावरभित्र यस्तो सेटको प्रयोग गर्ने गरिएको छ । तर, बिना अनुमति प्रयोग गर्न नमिल्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिचान पक्षधरले आफूआफू कुरा गर्नका लागि यो सेटको प्रयोग गरिएको बताएका छन् । पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने र कोसी नाम खारेज हुनुपर्ने मागसहित आन्दोलनलाई जारी राखिएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताए । ‘हामीले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छौँ । आन्दोलनलाई सफल बनाउन ‘युवा दस्ता’ तयार पारिएको छ,’ उनले भने, ‘हाम्रो मागको सुनुवाइ नभएका कारण निर्णायक आन्दोलन गर्नुपर्ने अवस्था आएको हो । राज्यसँग भिड्ने तयारीसहित आन्दोलन गर्ने तयारी छ ।’ प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । पहिचानलाई नसमेटिकन प्रदेशको नामकरण गरिएको भन्दै असन्तुष्ट पहिचान पक्षधरले कोसी नाम खारेजीको माग राखेर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार