सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनको पहल

शनिबार, १३ जेठ २०८०
इलाम । सार्वजनिक सवारी साधनको भाडादर कार्यान्वयनका लागि इलाममा पहल थालिएको छ । सरोकारवालाका अनुसार नयाँ भाडादर कार्यान्वयनमा सकारात्मक संकेतहरु देखिएका छन् । धेरै वर्षदेखि मेची राजमार्गलगायत इलाम जिल्लाका विभिन्न रुटमा चल्ने यातायातका साधनको भाडादर कार्यान्वयन भएको थिएन । यातायात व्यवसायी र यातायात व्यवस्थापन समिति बसेर निर्धारण गरिएको भाडा कार्यान्वयन नभएको हो । लामो समयदेखि भाडादर कार्यान्वयन नहुँदा यात्रु ठगिँदै आएका थिए । सहमति गरे पनि यातायात व्यवसायीहरुले आफूखुसी भाडा असुल गर्दै आएका थिए । गत असोजमा स्थानीय यातायात व्यवस्थापन समितिले भाडादर निर्धारण गर्न नसकेपछि प्राविधिक सहितको कार्यदल बनाएर भाडादर निर्धारण गरिएको थियो । तर यो भाडादरमा सहमति नहुँदै व्यवसायीले भाडादर कार्यान्वयन गर्न मानेनन् । पूर्वाञ्चल यातायात सेवा प्रालिका खड्ग श्रेष्ठले आफूहरुलाई विर्तामोडमा भाडादरबारे जानकारी नदिएकाले हालसम्म विर्तामोड इलामको भाडा पाँच सय लिइरहेको बताए । यातायात ब्यवस्था सेवा कार्यालय इलामका प्रमुख छविलाल खतिवडाले पहिला ब्यवसायीले आफूखुसी भाडा लिने गरेको बताए । ‘व्यवसायीले आफुखुसी इलाम– विर्तामोड ५०० रुपैयम भाडा लिइरहेका थिए, त्यसैले कार्यान्वयन गराउन सकिएन ।’ उनले भने । जिल्ला प्रशासन कार्यालय इलाममा विराटनगर, इटहरीदेखि इलाम झापा, पाँचथर ताप्लेजुङका यातायात व्यवसायी, प्रदेश यातायात व्यवस्थापन समिति प्रतिनिधि र यातायात व्यवस्थापन समितिबीच बैठक बसेर नयाँ भाडादर तोकिएको छ । नयाँ भाडादर अनुसार इलाम विर्तामोड नयाँ भाडादर चार सय २५ रुपैयाँ तोकिएको छ । योसँगै डिजेल र पेट्रोलको मूल्य पनि घटेर आएकाले मेची राजमार्गसहित जिल्लाभरका १ सय २२ रुटमा चल्ने सवारी साधनको भाडादर घटेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले उपभोक्ता हितका लागि सोच्न र आफू पनि कुनै न कुनै रुपमा यात्रु भएर सोच्न व्यवसायीहरुलाई आग्रह गरेका थिए । हालसम्म कार्यान्वयन नभएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयनका लागि पहल गर्न व्यवसायीहरुको समेत सहमति लिने पहल गर्न वैठक आयोजना गरिएको उनको भनाई थियो । वैठकमा व्यवसायी र सुरक्षा निकायका प्रतिनिधि बाहेक उपभोक्ता हक हितमा काम गर्ने वा यात्रुहरुलाई बोलाइएको थिएन । उपभोक्ता हक हितमा काम गर्ने को हो भनेर पहिचान नभएकाले नबोलाइएको आयोजक कार्यालयका प्रमुख छविलाल खतिवडाले बताए । मेची राजमार्गमा यातायात भाडादरमा बारम्बार गुनासो आइरहेकाले यसैलाई प्रमुख विषय मानेर बैठकको आयोजना गरेको उनले बैठकमा जानकारी गराएका थिए । बैठकमा नयाँ भाडादर तोकेपछि लागि प्रदेश यातायात व्यवस्थापन समितिमा स्वीकृतिका लागि पठाइएको थियो । बैठकमा सवै व्यवसायीहरुले मजदुर कर र बीमामा भएको महँगीको कारणले भाडा घटाउन नसकिएको दाबी गरेका थिए । सिण्डीकेट हटाएपछि फरक फरक व्यवसायीले फरक फरक भाडादर टाँसेर हिडेको र रातो नम्बर प्लेटका गाडीले पनि भाडामा चलाइरहेको पूर्वेली जिप तथा यातायात प्रालीका अध्यक्ष गृष्म सुव्बाले बताए । व्यवसायी मिलन क्षेत्रीले पञ्जीकरण गरेका गाडीलाई नवीकरण गराउँदा सम्बन्धित कम्पनीको सहमती पत्र बेगर नै नविकरण गरिदिएको गुनासो गरे । झापा इटहरी, पाँचथर र ताप्लेजुङका व्यवसायीको गुनासो र छलफलपछि तेलको मूल्य समायोजन भएपछि नयाँ भाडादरका लागि प्रस्ताव गरी निर्णय गरिएको थियो । यातायात व्यवसायीहरुले सवारी साधानमा बीच बीचमा चेकिङका नाममा दुःख दिएको र पैसा असुल्ने गरिएको बताएका थिए । एसपी दिलीप घिमिरेले सवारी साधनको चेकिङका लागि स्थायी चेक पोष्ट नै रहेको र आकस्मिक रुपमा चेकिङ विभिन्न स्थानमा गरिने बताए । कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयका यातायात महाशाखा प्रमुख सुवास कार्कीले अनलाईन पेमेन्ट सिस्टम चाँडै लागू गर्ने तयारी भएको जानकारी गराएका थिए । बैठकमा यातायात व्यवसायीहरु सुमन श्रेष्ठ, मदन श्रेष्ठ, मिलन गिरी, देवी भट्टराई समेतले आफ्नो धारणा राखेका थिए । यस्तै पत्रकार भीम चापागाईले हालसम्म भाडादर कायम नभएकोमा दुःख पोखेका थिए । अघिल्लो विपद व्यवस्थापन समिति बैठकमा सहभागी जनप्रतिनीधि र राजनैतिक दलका प्रतिनिधिहरुसमेत बैठकमा सहभागी भएका थिए । बैठकपछि भएको निर्णय अनुसार सार्वजनिक सवारी साधनले अनिवार्य रुपमा यात्रु टिकटको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेछ । यस्तै सवारी साधनहरुमा प्राथमिक उपचारका सामग्रीहरु अनिवार्य व्यवस्था गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु सवार गराउन पाइने छैन । ट्राफिकले चेकिङ गर्दा फराकिलो सडक खण्डमा चेकिङको व्यवस्था मिलाउने छ । यात्रुलाई अनिवार्य रुपमा गन्तव्यस्थलमा पुर्याउनु पर्ने ब्यवस्था गरिएको छ । बीचमा गाडी परिवर्तन गराएर मेल दिन नपाइने ब्यवस्था गरिएको छ । यात्रुसँग मर्यादित व्यवहार गर्नुपर्ने बताइएको छ । इलाम फिदिम चार सय रुपैया र इलाम ताप्लेजुङ आठ सय नव्बे रुपैयाँ भाडा तोकिएको छ । हालसम्म भाडादर कार्यान्वयन भएन अव होला भन्ने कसरी यात्रुले विश्वास गर्ने ? यो प्रश्न हामीले सरोकारवाला निकायका प्रतिनीधिलाई सोधेका छौँ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक शैलेन्द्रकुमार गच्छेदारले नयाँ भाडादर अनिवार्य लागू हुने बताएका छन् । उनले प्रहरी प्रशासनलाई नै छलेर उठाएको हो भने उनीहरु नै जानुन तर हामीकहाँ आएको उजुरीका आधारमा आफुहरु कारवाही गरेरै छोड्ने बताए । यातायात व्यवस्था सेवा कार्यालय इलामका प्रमुख छविलाल खतिवडाले नयाँ भाडादर लागू भएपछि धेरै यात्रुले आफूलाई फोन गरेर धन्यवाद दिएको बताए । उनले इलाम विर्तामोड चार सय २५ रुपैया तिरेको भएपनि तत्काल टिकटको ब्यवस्था नभएको भन्दै ब्यवस्था गर्न आग्रह गरेका थिए । विगतमा भएको सहमतिअनुसार भाडादर कार्यान्वयन गर्न ट्रापिक प्रहरीले दुइ हजार पर्चा पम्लेट बाँडेर भाडादर बारे जानकारी गराएको थियो । गुनासोका लागि सम्पर्क नम्बर दिएको थियो । भाडादर टाँस्न अनिवार्य गरिएको थियो । तरपनि यात्रुलाई टिकटको अनिवार्य व्यवस्थामा पहल नहँदा भाडादर कार्यान्वयन भएको थिएन । तर यो पटक भने यातायात व्यवस्थापन समितिले सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य राख्न व्यवस्था मिलाउने भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले ठाउँ ठाउँमा चेकिङ गरी बढि भाडा लिएमा कारबाही गर्ने बताएका छन् । यात्रु भाडाको लागि अनिवार्य रुपमा चेक गर्न जोरकलश र गोलाखर्क भञ्ज्याङमा चेकपोष्ट राखिएको जानकारी दिए । उनले कुनै पनि यात्रुले तोकिएको भन्दा बडि भाडा लिएको गुनासो गर्न सिधै प्रहरीलाई सम्पर्क गर्न सकिने बताए । यता केही मजदुर तथा ब्यवसायीहरुले भएको भाडादर कार्यान्वयन गर्न नसक्ने समेत बताउँदै आएका छन् । तर यातायात ब्यवसायी संघले भने सहमती गरेर हस्ताक्षर गरिसकेका छन् । यायायात व्यवस्था सेवा कार्यालयले सार्वजनिक सवारी भाडादर कायम गराउनका लागि व्यापक रुपमा अनुगमनको तयारी गरेको छ । कार्यालय प्रमुख खतिवडाले टिकट दिएको नदिएको सवै अनुगमनका क्रममा हेर्ने बताए । उनले नयाँ भाडादर कार्यान्वयनका लागि सवै पक्ष तयार भएकाले कार्यान्वयन योग्य निर्णय गरिएको जानकारी दिए । मेची राजमार्ग सहितको एक सय २२ रुटको नयाँ भाडादर घटेर आएकोले त्यसै अनुरुप सार्वजनिक सवारी साधनमा टाँस्न र प्रचार प्रसार गर्न सवै पक्षले तयारी गरेका छन् । यातायात व्यवसायलाई मर्यादित र अनुशासित बनाउन सवै पक्षले ध्यान दिन आवश्यक भएको उनले बताए । सार्वजनिक यातायातमा सहमतीको भाडादर कार्यान्वयन नहुने विगतको परम्परा छ । त्यस माथी यात्रुलाई चालकले गर्ने व्यवहार मर्यादित नभएको र सेवा नपाएको गुनसो व्यापक रुपमा आउने गरेको छ । गाउँघरबाट सदरमुकाम आउने सवारी साधनले चर्को भाडादर लिएको र क्षमता भन्दा बढि यात्रु ओसार्ने गुनासो व्यापक रुपमा आउने गरेको छ । यसवाहेक विद्यार्थीहरु, बृद्ध बृद्धा अपाङ््गता भएकाहरुलाई भाडामा छुटको व्यवस्थाको पहल हुन सकेको छैन । नेपाल सरकारले तोकिएको सहुलियत कार्यान्वयन गराउन निर्देशन दिएपनि कार्यान्वयन भएको पाइँदैन । नयाँ भाडादर कार्यान्वयनसँगै सार्वजनिक सवारी साधनमा सेवा सुविधा र टिकटको अधिकार यात्रुले पाउनेमा आशावादी हुन सकिन्छ । तर हालसम्म देखिएको उजुरी नगर्ने जति भाडा उठाए पनि तिर्ने यात्रुहरुको बानीले कार्यान्वयन पक्ष फितलो हँुदै आएको छ । प्रहरी प्रशासनले नयाँ रणनिति बनाएर सामान्य गुनासो, बेनामे उजुरी, टेलिफोन उजुरीका आधारमा पनि कारबाही गरी नयाँ भाडादर कार्यान्वयन गर्ने सोच बनाएको छ । सार्वजनिक सवारी साधनमा अनिवार्य टिकट व्यवस्थापन हुँदा र काउण्टर मार्फत अनिवार्य टिकट बिक्री गर्दा दशैं तिहार जस्ता चाडबाडका बेलामा हुने बेथिति र गुनासो हट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार