विराटनगर । कोसी प्रदेशसभा भवननजिक विराटनगरको दवकोटा चोकमा भएको झडपका क्रममा ५० जना घाइते भएका छन् ।
सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएको हालसम्मको तथ्यांक छ ।
प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभानजिकै प्रदर्शन चर्काएपछि झडप भएको हो ।
झडपमा नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ । सबै घाइतको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
झडपको अवस्थालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले १६ राउण्ड हवाईफायर गरेको थियो ।
बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बियरका बोतल प्रहार गरिएको थियो । आन्दोलनकारीले प्रहार गरेको गुलेलीले कतिपय प्रहरी घाइते भएका छन् ।
प्रदेशसभानजिक आन्दोलनकारीको आक्रमणमा परेर केही सुरक्षाकर्मी रगताम्य हुँदै ढलेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन सुरुमा प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो । त्यसपछि अश्रुग्यास प्रहार गरिएको थियो ।
‘प्रदर्शनकारी आक्रामक बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गरिएको प्रहरी स्रोतको भनाइ छ ।
देवकोटा चोकलगायत प्रदेशसभा भवन वरपरको अवस्था अहिले सामान्य बनिसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीको भीडलाई तितरवितर पारेपछि अवस्था सामान्य बन्दै गएको हो ।
पछिल्लो पटक प्रदर्शनस्थलबाट प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । त्यसअघि ३७ जना पक्राउ परेका थिए ।
पक्राउ परेकाको साथबाट गुलेली, ढुंगा, लाट्ठी, बाँस, भालालगायत बरामद गरिएको छ ।
प्रतिक्रिया