विराटनगर । प्रदेश नामकरणविरुद्ध आन्दोलनरत् समूहले प्रदेशको स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेर क्षति पु¥याएका छन् ।
मन्त्रालयको झ्यालका शिशा फुटेका छन् । मन्त्रालयको गाडीमा क्षति पुगेको छ । मन्त्री निर्मला लिम्बूको कार्यकक्षमा प्रदर्शनकारीले हानेका ढुंगा थुप्रिएका थिए ।
मन्त्रालय वरपर रहेका केही घरका शिशा पनि आन्दोलनकारीको ढुंगाले लागेर फुटेका छन् ।
प्रदेशसभाको आइतबार सुरु हुने दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने उद्देश्यसहित आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले विराटनगरमा प्रदर्शन गरेका थिए ।
प्रदेशसभा भवनबाट लगभग ७० मिटरजति पूर्वतर्फ रहेको मन्त्रालयमा उनीहरुले ढुंगामुढा गरेका हुन् ।
प्रदर्शन सुरु गर्दै आन्दोलनकारी मन्त्रालयनजिकको बाटो हुँदै प्रदेशसभा भवनतर्फ अघि बढ्न खोजेका थिए । त्यस क्रममा उनीहरुलाई रोक्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
प्रदेशसभातर्फ अघि बढ्न नपाएका प्रदर्शनकारीले अन्दाधुन्ध ढुंगा प्रहार गर्दा मन्त्रालयमा क्षति पुगेको हो । कति क्षति भयोभन्ने बारेमा यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मन्त्री लिम्बूले तोडफोडका कारण मन्त्रालय अस्तव्यस्त भएको गुनासो गरेकी छन् । प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय आन्दोलनकारी र सुरक्षा निकाय दुवैको निशानामा परेको बताइन् ।
सुरक्षा दिन नसकेको भने प्रश्न उठाएकी उनले आफू दुवै पक्षबाट असुरक्षित रहेको जानकारी सदनलाई गराइन् ।
‘मन्त्री लिम्बूले आफ्नो कार्यकक्षमा गोली हान्ने काम भएको आरोपसमेत लगाइन् ।
लिम्बूले आफू पहिचान पक्षधर हुँदा हुँदै प्रदेशको नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको पनि बताइन् ।
भोलिका दिनमा आउने समस्याको जिम्मेवारी कसले लिनेभन्ने जवाफ आफूलाई चाहिएको उनले बताइन् ।
लिम्बूले सुरक्षाको मागसमेत गरेकी छन् । उनी जनता समाजवादी पार्टी (जसपा) को समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी हुन् । ९३ सदस्यीय प्रदेशसभामा जसपाकी उनी एक्लो सांसद हुन् ।
प्रतिक्रिया