विराटनगर । प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरिएको छ । ‘कोसी’ नाम खारेज गर्दै पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधरको आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढाउने सहमति भएको हो ।
सुरक्षा अधिकारी, आन्दोलनरत पक्षका प्रतिनिधि एवं सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार यसबारे छलफल भएको थियो ।
कोसी नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै पहिचान पक्षधर आन्दोलनमा छन् ।
आन्दोलनका क्रममा आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्ध गर्ने जस्ता गतिविधि भइरहेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिलगायतका असहमत पक्षबाट विरोधका कार्यक्रम भइरहेकोमा अबदेखि शान्ति सुव्यवस्थामा असर पर्ने गतिविधि नगर्ने सर्वपक्षीय सहमति बैठकमा भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार शान्तिपूर्ण कार्यक्रमहरु सञ्चालन गरी जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्ने तथा आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधरलाई छाड्ने सहमति भएको छ ।
सहमतिपछि प्रहरी नियन्त्रणमा रहेका पहिचान पक्षधर २६ जना छुटेका छन् । आन्दोलनमा उत्रिएका ८६ जना पहिचान पक्षधरलाई प्रहरीले गत आइतबार नियन्त्रणमा लिएको थियो । तीमध्ये तोडफोड, आक्रमण र हुलहुज्जतमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी थियो । ६० जनालाई सोमबारै छाडिएको थियो ।
आन्दोलनरत पक्षले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा बुधबार कोसी प्रदेशमा आम हड्तालको आह्वान गरेको थियो । आन्दोलनका क्रममा पक्राउ परेकाहरु छुटेपछि आम हड्ताल फिर्ता लिइएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताए । हडताल फिर्ता लिए पनि प्रदेशको पुनः नामकरण नभएसम्म आन्दोलनलाई निरन्तरता दिइने उनले बताए ।
आइतबार प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने योजनासहित नामकरणको विरोधमा रहेका पहिचान पक्षधरले प्रदेशसभा भवन घेराउको कार्यक्रम राखेर विराटनगरमा प्रदर्शन गरेका थिए । हिंसात्मक प्रदर्शनपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप हुँदा ५४ जना सुरक्षाकर्मी र १७ जना आन्दोलनकारी घाइते भएका थिए ।
प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाममा कोसी राखेको थियो । त्यसमा असन्तुष्टि जनाउँदै पहिचानका आधारमा नामकरण गर्ने मागसहित पहिचान पक्षधर आन्दोलित बनेका हुन् ।
प्रतिक्रिया