विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएको छ । सरकारले मंगलबार उनीहरुलाई औपचारिक रुपमा वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरेको हो ।
सरकारका प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन् ।
फागुन १७ गते प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । त्यस प्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।
‘नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्वद्ध पक्षलाई कोसी प्रदेश सरकार आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ ।’
प्रदेशसभाको जारी दोस्रो एवं बजेट अधिवेशनअन्तर्गतको दोस्रो बैठक बुधबार बस्दैछ । नाम संशोधनका लागि सांसदलाई दबाब दिने उदेश्यले बुधबार पनि प्रदेशसभा भवन केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्ने तयारी रहेको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताए ।
प्रतिक्रिया