विराटनगर । हाडनाता करणीको आरोप लागेका ३३ वर्षीय एक युवा विराटनगरको नोबेल अस्पतालभित्र झुन्डिएको अवस्थामा भेटिएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको शौचालयभित्र झुन्डिएर मृत्यु भएको अवस्थामा ती युवकको शव फेला परेको हो । मोरङको मिक्लाजुङका उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए ।
निकै बेरसम्म ननिस्किएपछि हेर्दा शौचालयको ढोका भित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा उनलाई फेला पारिएको डीएसपी दाहालले बताए ।
दाहालका अनुसार उनी आफैँले लगाएको हरियो कपडा (गाउन) ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् । हाडनाता जबरजस्ती करणीको आरोपमा अनुसन्धानका लागि प्रहरीले जेठ १२ गते उनलाई नियन्त्रणमा लिएको थियो ।
मुद्दा चलाउन म्याद थपको तयारी हुँदै गर्दा घटनाले अर्को रूप लिएको छ । उनीविरुद्ध हाडनाता जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाउने तयारी थियो ।
ती युवकले यसअघि पनि घाँटी रेटेर आत्महत्याको प्रयास गरेको खुलेको छ । प्रहरीका अनुसार अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याइएका बेला उनले जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर आत्महत्याको प्रयास गरेका हुन् ।
प्रहरीका अनुसार पिसाब गर्न भनेर वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा उनी छिरेका थिए । लामो समयसम्म बाहिर ननिस्किएपछि हेर्दा शौचालयभित्रै अचेत अवस्थामा भेटिएका थिए ।
घाँटीको अगाडिको भाग रेटेको र रगताम्य भएको घाइते अवस्थामा भेटिएका उनलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो । त्यसबेला प्रहरीले उनीविरुद्ध म्याद थप गर्नै पाएन ।
उपचारलाई प्राथमिकता दिनुपर्ने भन्दै अदालतले पनि म्याद थप गर्न अस्वीकार गरेको थियो । शौचालयभित्र रहेका फलामको टुक्राले आँफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरीको भनाइ छ ।
उद्धार गरेर उपचारका लागि लैजाँदा उनी बोल्न सक्ने अवस्थामा थिएनन् । अवस्था गम्भीर रहेका उनलाई खोजेका बेला उपस्थित गराउने सर्तमा जिम्मा जमानीमा लिएर आफन्तले थप उपचारका लागि कोसीबाट नोबेल शिक्षण अस्पताल लगेका थिए । नोबेलको आकस्मिक कक्षमा उपचार जारी थियो ।
अवस्था ठीक हुँदै गएका उनी नोबेलकै शौचालयभित्र झुन्डिएको अवस्थामा मृत फेला परेको डीएसपी दाहालले बताए । करणीको घटना बाहिरिएपछि हिनतावोध भएर आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ ।
शौचालयको ढोका भित्रबाट लगाएर झुन्डिएको अवस्थामा मृत फेला पारिएका कारण घटना शंकास्पद नदेखिएको दाहालले बताए ।
नोबेलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लैजाने तयारी भइरहेको छ । डीएसपी दाहालले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रतिक्रिया