कोसी प्रदेश सरकारबाट बाहिरियो जसपा, समर्थन पनि फिर्ता

बुधबार, १७ जेठ २०८०
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । उसले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । जसपाको प्रदेश समिति बैठकको निर्णयपछि पार्टी सरकारबाट बाहिरिएको हो । पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने एक्ली सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री थिइन् । आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बुधबारको बैठकमा भएको जसपा नेता रकम चेम्जोङले बताए । उनले सरकारले समस्या मात्रै बल्झाउने काम गरिरहेको आरोप लगाएका छन् । समस्याको कुनै पनि निकास दिन नसक्ने देखिएपछि सरकारमा बसिरहनुको औचित्य नभएको चेम्जोङले बताए । फागुन १७ गते प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले प्रदेशको नाम कोसी राखेको थियो । यसप्रति असन्तुष्टि जनाउँदै ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् । उनीहरुको आन्दोलनमा जसपाको पनि समर्थन छ । आन्दोलनहरुमा जसपाका नेता–कार्यकर्ता पनि सहभागी हुने गरेका छन् । सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संघीय सरकारमा केन्द्रीय स्तरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपालगायत दलको गठबन्धन छ । प्रदेश सरकारबाट जसपा बाहिरिएको छ । माओवादीले सरकारलाई दिएको समर्थन जारी राखेको छ । कांग्रेसको प्रदेश संसदीय दलले माओवादी र जसपालाई सरकार छाड्न दबाब दिइरहेको थियो । साताअघि औपचारिक पत्र पठाएर सरकार छाड्न कांग्रेसले आग्रह गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । प्रदेशमा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपाका ४६ सांसद छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपासँग पनि सभामुख (माओवादीका बाबुराम गौतम) बाहेक ४६ सांसद छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार