जसपाबाट प्रतिनिधित्व गरेकी मन्त्री लिम्बूले दिइन् राजीनामा

बुधबार, १७ जेठ २०८०
विराटनगर । कोसी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गरेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको पार्टीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । गत पुस २५ गते उनी मन्त्री नियुक्त भएकी थिइन् । राजीनामापछि पत्रकार सम्मेलन गर्दै लिम्बूले पार्टीको निर्देशनअनुसार पदबाट राजीनामा दिएको बताइन् । पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटकपटक आग्रह गर्दा नमानेको उनले बताइन् । उनले पहिचानबादी पक्षले आफ्नो चरित्र हत्या गरेको आरोप समेत लगाइन् । सरकारमा बसेर पहिचानको मुद्दा उठाउँदा आफूमाथि पहिचान पक्षधरबाटै आक्रमणको प्रयास भएको लिम्बूले बताइन् । आइतबार पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए । जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए । सरकारमा बसेर पार्टीको तर्फबाट मन्त्रीले पहिचानको एजेन्डा राख्दा सम्बोधन नभएको र सरकारले आन्दोलनकारीमाथि दमन गरेका कारण सरकारबाट बाहिरिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार