युवराज गौतम
माउन्ट एभरेष्ट अर्थात् सगरमाथा नेपालको गौरव साथै विश्वको आकर्षण हो । विश्वकै सर्वोच्च भूमि हो सगरमाथा । सगरमाथाका विषयमा विश्वमा हजारौं शब्द लेखिएका छन् । सयौं गीत र कविता सिर्जना भएका छन् । विश्वका कुना कुनामा सगरमाथाका तस्वीर छरिएका छन् । फिल्म बनेका छन् र किताब लेखिएका छन् ।
अद्भूत र रोमाञ्चक लाग्ने सगरमाथा नोटमा छापिएको छ भने हुलाक टिकट प्रकाशित छ । त्यसैले त नेपालीहरु सगरमाथाको देशका नागरिक भनेर गौरव गर्छन् ।
सगरमाथा चढ्नु विश्व कीर्तिमान राख्नु हो । यस्ता कीर्तिमान राख्न विश्वका मानिसहरु नेपाली माटोमा टेक्न आइपुग्छन् र शिखर चुम्ने साहस गर्छन् । सगरमाथा आरोहणको ७० बर्ष पाइला टेक्दा अनौठा कीर्तिमानहरु भएका छन् । जसका कारण अझै नौलो कीर्तिमान बनाउन आरोहीहरु संघर्ष गरिरहेका छन् ।
सगरमाथाको आफ्नै इतिहास र गरिमा छ । अंग्रेजी महिनाको मे २९ तारिख विश्वभर ‘एभरेष्ट डे’ का रुपमा मनाउने चलन छ । नेपालीमा सगरमाथा दिवसका रुपमा उही दिन नेपाललगायत विश्वका कुना कुनामा एभरेष्टको चर्चा हुन्छ र नेपालको गौरवगाथा गाइन्छ ।
आरोहणको इतिहासमा यस वर्ष वसन्तकालीन आरोहणका लागि सबैभन्दा धेरैले अनुमति लिएका छन् । चुचुरोमा मानव पाइला टेकेको ७० बर्षे इतिहासमा यस वर्ष सबैभन्दा धेरै ४ सय ७८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्याकमा उल्लेख छ । ६६ करोड ६४ लाख रुपैयाँ रोयल्टी नै संकलन भएको छ । विभागका अनुसार सगरमाथा आरोहण गर्न ‘नर्मल रुट’ का लागि वसन्त ऋतुमा प्रतिविदेशी नागरिकले एघार हजार अमेरिकी डलर, शरद ऋतुमा ५ हजार पाँचसय र शिशिर तथा वर्षा ऋतुमा २ हजार ७ सय ५० डलर तिर्नुपर्छ ।
कुनै बेला सगरमाथा आरोहण गर्न सबैलाई अनुमति थिएन । शारीरिक रुपमा अशक्त अर्थात् अपाङ्गता भएका व्यक्तिलाई ६ हजार ५ मिटर भन्दा माथिको हिमाल आरोहण गर्न अनुमति थिएन । तर अब सगरमाथा चढ्नलाई सबैलाई खुल्ला गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले सगरमाथाको आरोहण गर्न पाउने फैसला गरेसँगै सगरमाथा सबैका लागि भएको छ । पत्रकार एवं सामाजिक अभियन्ता माधवप्रसाद चम्लागाईंको अगुवाइमा नियमावली खारेज गर्न माग गर्दै भानु निरौलाले दायर गरेको रिटमा दुवै हात वा दुवै खुट्टा वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने भन्ने पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ नेपालको संविधानको मौलिक हकअन्तर्गत समानताको हकसँग बाँझिएको हुँदा सो नियमावली खोरज भएको फैसलामा गरिएको थियो ।
चम्लागाईका अनुसार पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३ को उपनियम २ (क) थप गरी दुवै हात वा दुवै खुट्टा नभएको वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने गरी भएको नियमावली संशोधन तत्काललाई कार्यान्वयन नगर्न, नगराउनु भनी सर्वोच्च अदालतले गत २०७५ मैे नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
चम्लागाइ भन्छन्, ‘नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानुनको प्रयोगमा विभेद गर्न नपाइने संवैधानिक व्यवस्था हनन भएको, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिमा व्यवस्थाअनुसार बिना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित गरेको, अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुगेको, संविधानको धारा, ४२ ले प्रदान गरेको सामाजिक न्यायको हकमा नै बन्देज गरेको भनि हामीले रिट दिएका थियौं । सर्बोच्चले न्याय गरेको छ । अब सगरमाथा सबैका लागि भएको छ ।’
अनि बन्यो कीर्तिमान
सबैका लागि आरोहण गर्न पाउने व्यवस्थाकै फलस्वरुप पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरे । उनले २०८० जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरो पाइला टेकेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व कीर्तिमान कायम गरेका छन् ।
झन्डै पाँच बर्षको प्रयासमा कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । त्यस्तै २०१४ मै नक्कली खुट्टाको साहारामा भारतकी अरुणिमा सिन्हाले पनि आरोहण गरेर कीर्तिमान राखेकी थिइन् भने चीनका दृष्टिविहीन आरोही झाङ होङले सगरमाथाको सफल आरोहण गरेर रेकर्ड बनाएका थिए । दृष्टिविहीन अमिट केसीले पनि आरोहणको प्रयास गरेका थिए ।
लहर कीर्तिमानकै
सन् १९५३ मे २९ गते का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाको आरोहण गरेपछि कीर्तिमान तोड्ने लहर छ । जसका कारण नेपाल विश्वमा थप परिचित बन्दै गएको छ । विश्व रेकर्ड बनाउनकै लागि सबैभन्दा बुढो उमेर, सबैभन्दा सानो उमेर र सबैभन्दा धेरै पटक, सबैभन्दा छोटो समयमा, बिना अक्सिजन, सगरमाथाबाटै प्याराग्लाइडिङ गरेर, सांगीतिक कन्र्सट गरेर समेत सगरमाथा आरोहण गरेका कीर्तिमान भइरहेका छन् ।
यसैबर्ष मात्रै आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । शेर्पाले आफ्नो यसअघिको कीर्तिमान तोडेका हुन् । ५३ वर्षीय कीर्तिमानी आरोही शेर्पाले सगरमाथाको पहिलो आरोहण सन् १९९४ मा गरेका थिए । उनकै हाराहारीमा पासाङ दावा शेर्पाले पनि २७औं पटक चुचुरो चुमेका छन् ।
कीर्तिमान बनाउने प्रतिस्पर्धाबीच यसपालि १६ वर्षीया चिनियाँ युवती सुई चो युआनले पनि सबैभन्दा कान्छी आरोहीका रुपमा सगरमाथाको सफल आरोहण गरिन् ।
सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पा हुन् । उनका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि यसैपटक सगरमाथाको सफल आरोहण गरेर चर्चित भए । श्रीमती पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको ३० वर्षपछि सोनाम सगरमाथाको शिखरमा पुगेका हुन् । आप्पा शेर्पाले सन् २०११ मा २१ पटक चुचुरो चुमेर कीर्तिमान राखेका थिए । सन् २०१७ सम्म आउँदा भने आप्पाको कीर्तिमानमा फुर्वा तासी शेर्पा पनि जोडिएका हुन् ।
विभिन्न तरिकाले कीर्तिमान कायम गर्ने लहरले सगरमाथालाई थप उचाइ दिएको छ । सबैभन्दा छिटो ८ घन्टा १० मिनेटमा आरोहण गरेर पेम्बादोर्जे शेर्पा, सबैभन्दा छिटो २० घन्टा २४ मिनेट र अक्सिजनबिना काजी शेर्पा, चुचुरोमै सबैभन्दा धेरै समय २१ घन्टा बिताएर बाबुछिरी शेर्पा, जापानका युचिरो मिउरा सबैभन्दा पाको उमेर ८० बर्ष २२४ दिन, अमेरिकाको जोडान रोमारियो सबैभन्दा कम उमेर १३ बर्ष १० महिना १० दिनमा शिखर चुमेर कीर्तिमान कायम गरिसकेका छन् ।
एकै याममा दुईपटक सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान बनाएकी छन् ।सामान्यतयाः एक याममा आरोहीले एकपटक मात्रै हिमाल आरोहण गर्ने गरिएको भए पनि उनले एकै याममा दुई पटक आरोहण गरेकी हुन् ।
पेम दोर्जी शेर्पा र मोनी मुलेपतीले ३० मे २००५ मा सगरमाथाको सफल आरोहण गर्दै चुचुरोमै विवाह विश्वकै सबैभन्दा अग्लो ठाउँमा विवाह गर्ने जोडी बनेर कीर्तिमान बनाए । १० घन्टा ५६ मिनेट ४६ सेकेन्डमा सगरमाथाको सफल आरोहण गरेर लाक्पा गेलु शेर्पाले २००३ मा कीर्तिमान कायम बनाए । यस्ता कीर्तिमान विभिन्न तरिकाले आरोहीहरुले बनाइरहेका छन् । त्यस्ता कीर्तिमानीले सगरमाथाको चर्चा विश्वभर चुलिएको छ ।
यद्यपि, सगरमाथामा स्वघोषित कीर्तिमान बनाउने नाममा कानुनविपरीत र अमर्यादित हर्कतहरुले सरकारलाई हैरानी बनाएको छ । पछिल्लो पटक सगरमाथामा शिखरमा एक विदेशीले अश्लील रेकर्ड बनाएको दावी गरेको फोटो सार्वजनिक गरेपछि मन्त्रालय र पर्यटन विभाग नै तनावमा परेको थियो । नियमावलीविपरीत भएका गतिविधि रोक्न नसक्दा सरकारले सम्पर्क अधिकृतहरु खटाउने गरेको छ तर गलत सूचना, तस्वीर र भिडियो सार्वजनिक हुनेक्रम रोकिएको छैन ।
नामकरणको रोचक इतिहास
सगरमाथाका अनेक नाम छन् । इतिहासमा विविधता छ । इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथाको नामाकरण गरेको इतिहास नेपालका शिक्षालयका पाठ्यक्रममा प्रशस्त पढ्न पाइन्छ । ऐतिहासिक विषयका अध्येता निर्मल श्रेष्ठले एक आलेखमा भनेका छन् ‘सगर’ र ‘माथ’ शब्द धेरै पुराना संस्कृत शब्द हुन् । ‘सगर’ ले ‘आकाश’ वा ‘अन्तरिक्ष’ भन्ने बोध हुन्छ भने ‘माथ’ वा ‘माथा’ शब्दले ‘शिर’ भन्ने जनाउँछ । यसले सगरमाथा भन्नाले ‘आकाशलाई छुने शिर’ वा ‘आकाशतिर उन्मुख शिर’ भन्ने बुझाउँछ ।
तिब्बती–बर्मेली भाषा समूहका शेर्पा र तिब्बतीहरुले ‘सगरमाथा’ लाई ‘चोमोलुङ्मा’ भन्ने भन्ने गर्छन् । ‘चोमोलुङ्मा’ को शाब्दिक अर्थ ‘आकाशकी देवी’ भन्ने हुन्छ । शेर्पाहरुले ‘चोमोलुङ्मा’ लाई पहाडको चुचुरोको रुपमा मात्र होइन, ‘देवीको चिह्न’को रुपमा आस्था राख्ने गर्छन् । साथै सगरमाथा, चोमोलुङ्मालाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिने गर्छन् ।
अध्येता श्रेष्ठको आलेख ‘सगरमाथाको नाप र नामकरण’ का अनुसार सन् १८४९ देखि १८५५ सम्म ‘सर्भे अफ इन्डिया’ ले नेपालको हिमालहरुका चुचुरोहरुको सर्भे गर्ने कामको थालनी गरेको थियो । सर्भे गरिएका चुचुरोहरुमध्ये एउटा चुचुरो विश्वको सबैभन्दा अग्लो चुचुरो हुनेछ भन्ने अनुमान कसैलाई थिएन ।
तिब्बती र शेर्पाहरुले ‘चोमोलुङ्मा’ र नेपाली भाषामा ‘सगरमाथा’ भनिने यस चुचुरोलाई सन् १८५५ को अन्तिमतिर रोमन न्युमरलबाट ‘पिक फिप्टिन’ भनेर नामकरण गरिएको थियो । तर जब यो चुचुरो विश्वको सबैभन्दा अग्लो चुचुरा हो भनी आधिकारिक घोषणा भयो त्यसपछिको दश बर्ष नाम के राख्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो ।
अध्येता श्रेष्ठका अनुसार त्यसबेला सर्भेयर जनरल अफ इन्डियामा कर्नेल एनडर्यु ओङ थिए । उनको कायम–मुकायम पदमा कर्नेल हेनरी टुइलर थिए भने चिफ कम्प्युटरमा राधानाथ सिकदर थिए । उनीहरुले सर जर्ज एभरेस्टको नामबाट यस चुचुरोको नामकरण गर्ने निधो गरेका थिए ।सन् १८३० मा सर्भेयर जनरल अफ इन्डियाको सर्भेयर जनरल भएका सर जर्ज एभरेस्टको भारतको भूरेखात्मक लम्बाइ नाप गरिने सर्भेको काममा ठूलो योगदान थियो र सर जर्ज एभरेस्टको भूमापनसम्बन्धी कार्यलाई श्रेष्ठतम मान्ने गरिन्थ्यो । उनको योगदानको कदरस्वरुप मार्च १८५६ मा ‘सर जर्ज एभरेस्ट’ को नामबाट यस चुचुरोको नाम ‘मोन्ट एभरेस्ट’ हुनुपर्छ भनी सुझाइएपछि रोयल जिओग्राफिकल सोसाइटी अफ ब्रिटेनले स्वीकृति दिएको थियो ।
‘मोन्ट एभरेस्ट’ नामकरण गरिएको यस चुचुरोको नाम एक वर्षपछि ‘माउन्ट एभरेस्ट’ भनी पुनः नामकरण गरिएको थियो । सर जर्ज एभरेस्टको जन्म इंग्ल्यान्डको ग्रिनविजमा सन् १७९० जुलाई ४ तारिखका दिन भएको थियो । विस्तारै विश्वभर माउन्ट एभरेष्टको चर्चा चुलियो र मे २९ तारिखलाई माउन्ट एभरेष्ट डे भनेर विश्वभर विविध कार्यक्रम गरेर मनाउन थालियो ।
सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ मा पनि सगरमाथाको ऐतिहासिक सन्दर्भमा रोचक प्रसंगहरु पढ्न पाइन्छ । पुस्तकमा ‘महाकवि कालिदासले आफ्नो शास्त्रीय रचना ‘कुमारसम्भव’ मा सगरमाथालाई पहाडहरुका राजा भनेर वर्णन भएको तथ्य रोचक ढंगले प्रस्तुत गरेका छन् । ऐतिहासिक र स्थलगत भ्रमणको रमाइलो प्रसंग पढ्न पाइन्छ ।
चुनौती अनेक
सगरमाथा अहिले विश्वकका साहसिक पर्यटकहरुको मुख्य रोजाइमा छ । आधार शिविरसम्म पुगेर चुचुरोलाई स्पर्श गर्ने शिखरमै पुगेर चुम्ने होडवाजी चलिरहेको छ । पछिल्ला बर्षहरु सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ भने मृत्यु भएका आरोही र भरियाहरुको शव व्यवस्थापन सरकारकै लागि चुनौतीपूर्ण देखिन्छ । आरोही र तिनका सहयोगीको संख्या बढेसँगै फोहरमैला पनि थपिँदै गएको छ । आधार शिविरदेखि माथिका भूभागमा अनुगमन हुन नसक्दा नियमको पालना नभएको र फोहोरमैला थुप्रिने गरेको खबरहरु बाहिरिने गरेका छन् ।
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार आरोहण सञ्चालक र आरोहीले आरोहणका क्रममा प्रयोग गरेका अक्सिजन सिलिन्डर, रेगुलेटर, टेन्ट र खाना राख्न प्रयोग गरिएका प्लास्टिकलगायत सामग्री फिर्ता ल्याउनुपर्ने, यस बाहेक प्रत्येक आरोहीले फर्कंदा आठ किलोग्राम फोहर आधार शिविर ल्याउनुपर्ने भएपनि त्यो कार्यान्वयन हुन सकेको छैन । सगरमाथामा अर्को ठूलो समस्या भनेको जलवायु परिवर्तनको असर हो । बढ्दो विश्वव्यापी तापमानका कारण हिउँका सतह र हिमनदी छिटोछिटो पग्लिरहेका छन । चट्टानहरु देखिन थालेका छन् । हिउँ पग्लिएपछि शवहरु छरपष्ट देखिने गरेको आरोहीहरु नै बताउँछन् । हिमताल फुट्ने खतरा बढिरहेको छ । छिटो हिउँ पग्लिदा सगरमाथाको सुन्दरतामा कमी आउने अनुमान पनि लगाउन थालिएको छ ।
बेलायतको एक्जेटर विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा जलवायु परिवर्तनको कारणले सगरमाथाजस्तो उच्च हिमाली क्षेत्रमा पनि रुख बिरुवा उम्रन सक्ने र हिमालको सुन्दरता मेटिन सक्ने अनुमान गरिएको छ । साथै हिमनदीका कारण बाढीको जोखिम बढ्ने देखिएको छ ।
यस कारण सगरमाथाको अस्तित्व जोगाउन सरकार र सरोकारवालाका लागि ठूलो चुनौतीका रुपमा खडा भएको छ । त्यसका अलावा सगरमाथाको उचाइ मापन नेपालका लागि चुनौतीपूर्ण मानिएको छ ।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइ फेरबदल भएको हुनसक्ने विज्ञहरुले अनुमान गरेसँगै वास्तविक र विश्वले विश्वास गर्ने मापन गर्न नेपालका लागि ठूलो चुनौती बनिरहने छ । यद्यपि, चीन र नेपालले गरेको उचाइ मापनको विवरणमा एकरुपता आएसँगै विश्वासको वातावरण बनेको भए पनि भविष्यमा यस्ता समस्याहरु दोहोरिनसक्ने अनुमान गरिन्छ ।
मुलुक संघीय सरचनामा गएपनि कोशी प्रदेशमा रहेको सगरमाथा प्रदेश सरकारको प्राथमिकता छैन । यस बर्ष ६ सय आरोहीले सगरमाथा चढेसँगै हिमाल आरोहण गर्न अनुमति दिएवापत ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ । तर आर्थिक स्वामित्वमा कोशी सरकार निरिह छ ।
पर्यटन विभागका अनुसार यसपालीको वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन हुँदा कन्चनजंगा, सगरमाथा आरोहणबाट उठेको रोयल्टीमाथि प्रदेश सरकारले दाबी रहने अवस्था सिर्जना गर्नु जरुरी छ ।
प्रतिक्रिया