इलाम । पाथीभरा मन्दिरको रकम हिनामिना भएको सम्बन्धमा गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेको छ । धर्मावलम्बीले दान गरेको भेटी रकम हिनामिना भएको भन्दै ब्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।
इलामको रोङ गाउँपालिकामा अवस्थित मन्दिर व्यवस्थापन समितिले पाँच वर्ष अघिदेखि आयव्यय प्रस्तुत नगरेको भन्दै सर्वदलीय बैठकले रकम छानबिनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । सदस्यहरुमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, शहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार छन् । एकजना सदस्य रोङ गाउँपालिकाले तोक्ने जनाइएको छ ।
सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले सो समितिलाई सत्यतथ्य बाहिर ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाव गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडी बढेको छ । समितिले २५ दिन भित्र प्रतिवेदन तयार पार्ने जनाइएको छ ।
संस्था दर्ता ऐन २०३४ बमोजिम मिति २०५५ साल भदौ २५ गते सो संस्था दर्ता भएको जनाइएको छ ।
यता गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले प्रशासनको यो कदम स्वागत योग्य भएको बताए । तर दबाब नदिइ चाहिँ काम गर्नै नहुने जस्तो कार्य भएको उनको भनाई छ । उनले भने गाउँँपालिका र सर्वदलीय बैठकले प्रशासनलाई जानकारी गराए लगत्तै यो काम भएको भए गाउँपालिकाको आम्दानी बढ्ने उनको भनाई छ ।
बारम्बार पत्र पठाउँदा पहिला प्रशासनले पहिला काम नगरेको उनको भनाई छ । गठित समितिलाई सहयोगसँगै निश्पक्ष छानबिनमा आफुहरुले जाँच गर्ने समेत उनले बताए । सो मन्दिर ब्यवस्थापन समितिले गएका पाँच वर्षदेखी संस्था नविकरण नगरेको तथा हिसाव सार्वजनिक गर्न सार्वजनिक सुनुवाई समेत गरेको थिएन ।
प्रतिक्रिया